काठमाण्डू, १८ फागुन– पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी एकता आवाश्यक रहेको बताएका छन ।
आज (सोमबार) भक्तपुर– २ मा नेकपा एमालेसँग आबद्ध व्यक्तिहरुलाई नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गराउँदै संयोजक प्रचण्डले यस्तो बताएका हुन ।
प्रचण्डले भने, ‘आजको आवश्यकता भनेको वामपन्थी ध्रुवीकरणकै हो । वामपन्थी एकता आजको एकदमै महत्वपूर्ण आवश्यकता हो ।’ यसक्रममा प्रचण्डले ०७४ सालको निर्वाचन सम्झिए । त्यसबेला तत्कालीन एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रले मिलेर चुनाव लडेका थिए ।
प्रचण्डले भने, ‘हामी २०७४ को निर्वाचनमा एक भएर निर्वाचन लड्यौं । पछि एउटै पार्टी पनि बनायौं । झण्डै दुई तिहाइ एक्लै एउटै पार्टीको भएको थियो । तर, नेतृत्व सही नहुँदा त्यत्रो शक्ति आर्जन गरेर जनताको त्यति ठूलो विश्वास जितेर पनि बचाउन सकिएन ।’
गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि अझ कम्युनिस्टहरूबीच एकता आवश्यक भएको भन्दै प्रचण्डले आफू एकता प्रक्रियामा रहेको बताए ।
उनले भने, ‘अहिले जेनजीको आन्दोलन, भदौ २४ गतेको घटनाक्रमपछि फेरि कम्युनिस्टहरू लाई एकतावद्ध गर्ने आवश्यकता झन बढ्यो ।
नेपाली कम्युनिस्ट पार्टी बनाउने प्रक्रिया अगाडि बढ्यो, ‘एमालेबाट ठूलो संख्यामा केन्द्रका नेताहरूदेखि विभिन्न प्रदेशका मन्त्री र सांसदहरू अहिले दिनदिनै जस्तो नेपाली कम्युनिस्ट पार्टीमा जोडिने प्रक्रिया अगाडि बढिराखेकै छ ।’