काठमाण्डू, १७ फागुन– मध्यपूर्वी देशहरूमा विकसित पछिल्लो घटनाक्रमपछि नेपाल सरकारले त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको जनाएको छ ।
परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गर्दै त्यहाँ रहेका नेपालीको सुरक्षा उच्च प्राथमिकतामा राखिएको बताउँदै त्यसका लागि विभिन्न कूटनीतिक तथा प्रशासनिक पहल सुरु गरेको जनाएको छ । परराष्ट्र मन्त्रालयको मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका सहसचिव रामकाजी खड्काले प्रभावित क्षेत्रका लागि ट्राभल एडभाइजरी जारी गरिएको बताए ।
सम्बन्धित देशहरूमा रहेका नेपाली दूतावास तथा नियोगहरूले पनि सूचना र सतर्कता सन्देश सार्वजनिक गरिसकेको बताए । मन्त्रालयले विभिन्न देशहरूले जारी गरिरहेका आधिकारिक वक्तव्य र समग्र सुरक्षा अवस्थालाई निरन्तर निगरानी गरिरहेको जनाएको छ ।
सहसचिव खड्काका अनुसार मध्यपूर्वका विभिन्न मुलुकमा हाल करिब १७ लाख २९ हजार २८८ नेपाली नागरिक रहेका छन् । जसमा इरानमा १० जना नेपाली रहेका छन् । ती ४ जना नेपाल फर्किसकेका छन् भने ६ जना इरानमै छन् ।
त्यस्तै इजरायलमा करिब ६ हजार ५ सय, इजिप्टमा ५ सय, ओमनमा २५ हजार, कतारमा ३ लाख ५७ हजार ९१३, कुवेतमा १ लाख ७५ हजार, बहराइनमा २८ हजार, साउदी अरबमा ३ लाख ८४ हजार ८६५, संयुक्त अरब इमिरेट्मा करिब ७ लाख लेबनानमा १ हजार ५ सय, इराकमा ३० हजार र साइप्रसमा १७ हजार नेपाली कार्यरत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले संकट व्यवस्थापनका लागि मध्यपूर्वस्थित नेपाली राजदूत तथा नियोग प्रमुखहरूलाई समेटेर ह्वाट्सएप ग्रुप बनाएको छ । उक्त ग्रुपमार्फत प्रत्येक देशको ताजा सुरक्षा अवस्था, सरकारी निर्णय, सम्भावित जोखिम तथा नेपाली नागरिकले भोगिरहेका समस्या सम्बन्धी अद्यावधिक जानकारी आदान–प्रदान भइरहेको सहसचिव खड्काले बताए ।