केपी ओलीको जित र हारसँग देशको स्वाभिमान जोडिएको छः उपमहासचिव भट्टराई

काठमाण्डु टुडे २०८२ फागुन १७ गते १४:३२ मा प्रकाशित

काठमाण्डू, १७ फागुन– पूर्व मन्त्री एवं एमाले उपमहासचिव योगेश भट्टराईले आगामी निर्वाचनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको विजय वा पराजय एमालेको मात्र नभई सिङ्गो देशकै जित वा हारसँग जोडिएको बताएका छन ।

आज (आइबतार) झापा–५ अन्तर्गत कमल गाउँपालिकाको गेउरियामा आयोजित चुनावी कोणसभा तथा मोटरसाइकल र्‍यालीको उद्घाटन गर्दै एमाले उपमहासचिव भट्टराईले यस्तो बताएका हुन । उनले ओलीको नेतृत्वमा मात्रै नेपाली राष्ट्रियता र स्वाभिमान सुरक्षित रहने दाबी समेत गरेका छन ।

उनले ओलीले हार्नु भनेको नेपाली जनताको पहिचान र गौरव कमजोर हुनु भएको उल्लेख गर्दै राष्ट्रवादी शक्तिलाई विजयी गराउन आह्वान समेत गरेका छन ।

झापालाई नेपाली कम्युनिस्ट आन्दोलनको पवित्र स्थल र पुनर्जीवन दिने भूमिका खेलेको जिल्लाका रूपमा स्मरण गर्दै भट्टराईले यहाँबाट प्रवाह हुने सन्देशले देशव्यापी अर्थ राख्ने पनि बताएका छन ।

उपमहासचिव भट्टराईले झापा क्षेत्र नम्बर ५ मा भएको विकासको मोडेल देशभरकै लागि नमुना रहेको चर्चा गर्दै यस क्षेत्रका मतदाताले फेरि पनि राष्ट्रवादी नेतृत्वलाई नै रोज्नेमा आफू ढुक्क रहेको विश्वास व्यक्त गरे। एमालेले अहिले राष्ट्रवादी शक्तिको नेतृत्व गरिरहेकाले देशको हितका लागि ओलीको जित अपरिहार्य रहेको पनि बताएका छन ।

पार्टीभित्रको आन्तरिक विषय र जिम्मेवारी बाँडफाँडलाई लिएर अहिले बहस गर्ने समय नभएको बताउँदै उपमहासचिव भट्टराईले सबै नेता तथा कार्यकर्तालाई एकढिक्का भएर चुनावी मैदानमा होमिन निर्देशन दिए ।

कोही संगठनमा, कोही संसद्मा त कोही स्थानीय तहमा रहेर काम गरिरहेकाले सबैले आ–आफ्नो ठाउँबाट पार्टीलाई जिताउन लाग्नुपर्ने पनि बताए । अहिलेको मुख्य आवश्यकता आपसी मतभेद त्यागेर एमालेलाई पहिलो शक्ति बनाउनु र नेपालीत्वको झण्डा उँचो राख्नु नै रहेको उनले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us