झक्कु सुवेदीले वर्षमानलाई प्रधानमन्त्री प्रस्ताव गरे, जवाफमा प्रचण्डले के भने ?

काठमाण्डु टुडे २०८२ फागुन १७ गते १३:२७ मा प्रकाशित

काठमाण्डू, १७ फागुन– रोल्पा सदरमुकाम लिबाङमा हिजो (शनिबार) नेपाली कम्युनिस्ट पार्टी रोल्पाले चुनावी सभा आयोजना गरेको थियो । सभामा पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, रोल्पाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार वर्षमान पुन र नेता झक्कु सुवेदी लगायतले सम्बोधन गरे ।

प्रचण्ड र वर्षमानअघि बोलेका नेता सुवेदीले वर्षमान रोल्पाको मात्र नभई समग्र पार्टी र मुलुककै नेतृत्व लिन सक्षम रहेको दाबी गरे । हाम्रो पार्टीका उम्मेदवार कमरेड वर्षमान पुन अनन्तलाई देश कसरी चलाउने भन्ने राम्रोसँग थाहा छ’ सुवेदीले भने, ‘त्यति मात्र होइन, हिजो हाम्रो महान जनयुद्धका क्रममा उहाँले एउटा कुशल जनमुक्ति सेनाको कमाण्डर भएर काम गर्नुभएको छ । पार्टीको नेता भएर काम गर्नुभएको छ ।’

नेतृत्वले जहाँको जिम्मेवारी दिए पनि पुनले कुशतापूर्वक पूरा गरेको जिकिर सुवेदीले गरे । उनले भने, ‘कमरेड प्रचण्डले पश्चिम पठाउँदा वर्षमान कमरेड पश्चिम जानुभएको छ । पूर्व पठाउँदा पूर्व जानुभएको छ । उपत्यकामा पठाउँदा उपत्यकामा जानुभएको छ र त्यहाँ गएर कुशलतापूर्वक कमाण्डिङ गर्नुभएको छ ।’

पार्टीभित्र नयाँ पिंढीको सबभन्दा क्षमतावान नेता भएको पनि सुवेदीले बताए । ‘भोलिका दिनमा हाम्रो पार्टीको अध्यक्ष भएर काम गर्ने क्षमता उहाँले राख्नुहुन्छ’ सुवेदीले भने, ‘त्यत्रि मात्र होइन, भोलि यो देशको प्रधानमन्त्री भएर युवा पिंढीबाट यो देशको नेतृत्व गर्ने क्षमता राख्नुहुन्छ । हामीले त्यस्तो उम्मेदवार पाएका छौं ।’

सुवेदीपछि पुन र पुनपछि प्रचण्ड बोले । प्रचण्डले सुवेदीको भनाइमा सही थप्दै वर्षमानमा मुलुकको नेतृत्व लिन सक्ने क्षमता आफूले देखेको उल्लेख गरे । उनले वर्षमानलाई रेकर्ड बन्ने गरी अत्याधिक बहुमतले जिताउन रोल्पाली मतदातालाई अपिल गरे । त्यसपछि वर्षमानलाई के गर्नुपर्छ भन्ने जिम्मा आफ्नो भएको बचन उनले दिए । नेतृत्वको हिसाबले वर्षमानबाट धेरै अपेक्षा गरेको र आफ्नो साथ सधैं वर्षमानलाई रहेको प्रचण्डले बताए ।

‘कमरेड वर्षमान पुनलाई रेकर्ड बन्ने गरी अत्याधिक बहुमतद्वारा रोल्पाले फेरि एकचोटि नयाँ रेकर्ड बनायो भन्ने गरी तारा चुनाव चिह्नमा मतदान दिएर विजयी गरेर पठाउनुस्’ प्रचण्डले भने, ‘वर्षमानलाई के गर्नुपर्छ मेरो जिम्मा छोडिदिए हुन्छ ।

यहाँअघि केही कमरेडहरुले मलाई भनिसक्नुभएको छ ।’ वर्षमानबाट आफूले धेरै ठूलो आशा र अपेक्षा गरेको पनि उनले बताए ।

‘पुनले यो राष्ट्रको निम्ति, यहाँको जनताको निम्ति, यहाँ समाजवादको नयाँ यात्रा आरम्भ गर्नको निम्ति धेरै जिम्मेवार र गम्भीर भएर काम गर्नुपर्नेछ, नेतृत्वको हैसियतले मेरो सदैव उहाँलाई साथ छ’ प्रचण्डले भने, ‘यहाँ अरू सिनियर लिडर हुनुहुन्छ , कृष्णबहादुर महरा, जोखबहादुर महरा, झक्कु सुवेदीलगायत थुप्रै कमरेडहरू हुनुहुन्छ । तपाईंहरू सबै साक्षी हुनुहुन्छ । मैले धेरै सपना देखेको छु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us