मध्यपूर्वमा मिसाइल बर्सिंदा निदाउन सकिनँः  ओली

काठमाण्डु टुडे २०८२ फागुन १७ गते ८:१७ मा प्रकाशित
काठमाण्डू, १७ फागुन– पूर्व प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपूर्वका देशहरुमाथि बर्सिएका मिसाइलका कारण आफूलाई निद्रा नलागेको बताएका छन ।
ती देशहरुमा नेपालीहरु पनि रहेकाले उनीहरुको चिन्ताले आफू निदाउन नसकेको ओलीले बताएका छन । अमेरिका र इजरायलले संयुक्त रुपमा इरानमाथि आक्रमण गरेपछि इरानले प्रत्याक्रमण स्वरुप अमेरिकी सैन्य अड्डालाई लक्षित गरी मिसाइल प्रहार गरेको थियो ।
त्यसबाट कतार, बहराइन, युएई, कुवेत, इजरायल लगायतका देशहरुमा त्रासको वातावरण सिर्जना भएको थियो । सोही घटनालाई लिएर एमाले अध्यक्ष ओलीले फेसबुकमा लेखेका छन्, ‘मध्यपूर्वी देशहरु माथिको आकाशबाट बर्सिएका मिसाइलको धुवाँको दृश्यले आज निद्रा परेको छैन । ती देशमा लाखौं नेपाली अपत र कोलाहलमा छन् । तिनका परिवारले यहाँ पलपल छट्पटाएर बस्नु परेको छ ।’
उनले थप लेखेका छन्, ‘आज तपाईंहरूलाई पलपल छट्पटी भइरहँदा म निदाउन सकिनँ, बेचैन छु । यसबेला हाम्रो सजगता चाहिन्छ, धैर्य चाहिन्छ ।’ उनले विवेक, धैर्य र साहसको कामना समेत गरेका छन् ।
मध्यपूर्वका मुलुकहरु भूराजनीतिक चेपटामा परेको भन्दै ओलीले लेखेका छन्, ‘ती देशहरू पनि पक्कै युद्ध चाहँदैनथे । तर शक्तिको स्वार्थ घुसेपछि विवश हुनुपर्ने ।’ उनले सौभाग्यबस नेपालमा मिसाइलको धुवाँ भोग्नु नपरेको उल्लेख गरेका छन् । र भनेका छन्, ‘मेरो प्रार्थना छ– कुनै पनि आवरणमा त्यो आउन नसकोस् ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us