इरानभर २०० बढी मारिए, एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

काठमाण्डु टुडे २०८२ फागुन १७ गते ७:४३ मा प्रकाशित

एजेन्सी– अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट कम्तीमा १०८ जनाको मृत्यु भएको स्थानीय सरकारी अधिकारीले बताएका छन ।

इरानभर भएको हवाई आक्रमणमा भने कम्तीमा २०१ जनाको मृत्यु र ७४७ जना घाइते भएको तथ्यांक छ । राष्ट्रपति मोसुद पेजेस्कियानले विद्यालयमा भएको आक्रमणलाई ‘जंगली कार्य’ र ‘आक्रमणकारीहरूले गरेका असंख्य अपराधहरूको इतिहासमा अर्को कालो पाना’ भनेर टिप्पणी गरेका छन् । इजरायल र अमेरिकाबाट भने विद्यालयमा आक्रमण भएको विषय पुष्टि भएको छैन ।

उक्त विद्यालय इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कोर (आईआरजीसी) को क्याम्पबाट करिब ६०० मिटर नजिकै पर्दछ । आईआरजीसी क्याम्प इजरायल र अमेरिकाको आक्रमणको निशाना बनेको थियो ।

एक अधिकारीका अनुसार होर्मोजगान प्रान्तको मिनाब सहरस्थित उक्त विद्यालयमाथि तीनवटा मिसाइल खसेका थिए । जेनेभामा रहेका रेडक्रस र रेड क्रिसेन्टका अधिकारीहरूले घटनापछि विद्यालयतर्फ उद्धार टोली परिचालन गरिएको बताएका छन् ।

बीबीसीले विस्फोटपछिको अवस्थासम्बन्धी केही भिडियो क्लिपहरू प्रमाणीकरण गरेको जनाएको छ, जसमा एक भवनबाट धुवाँ उडिरहेको, वरिपरि मानिसहरूको भीड लागेको र चिच्याइरहेको सुनिन्छ । तर मृतकको संख्या स्वतन्त्र रूपमा पुष्टि गर्न भने नसकेको बीबीसीले जनाएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूलाई प्रायस् इरानमा भिसा नदिइने भएकाले त्यहाँ तथ्य संकलन गर्न कठिन हुने गर्दछ । घटनापछि इरानी सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आक्रोश व्यक्त गरेका छन् ।

विदेशमा बस्ने र इरानमाथि सैनिक हस्तक्षेपको विरोध गर्ने एक इरानीले लेखेका छन्, ‘यस युद्धका पहिलो पीडित मिनाबका ४० बालिकाहरू हुन्, जो मिसाइल आक्रमणमा परे । के तपाईंहरूले समर्थन गरेको युद्ध यही हो ?’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us