मोदीलाई रवि र बालेनले पठाएको भन्दै सार्वजनिक पत्रप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण

काठमाण्डु टुडे २०८२ फागुन १६ गते ७:४७ मा प्रकाशित

काठमाण्डू, १६ फागुन– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केही सञ्चार माध्यम र सामाजिक सञ्जालहरूमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले पत्र पठाएको भनिएको सार्वजनिक पत्रप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

हिजो (शुक्रबार) राति रास्वपाका विदेश विभाग प्रमुख शिशिर खनालले विज्ञप्ति जारी गर्दै यसबारे पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता बालेन शाहको संयुक्त हस्ताक्षर भनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गरेर लेखिएको भनिएको पत्र र सो सम्बन्धी समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, ‘सार्वजनिक गरिएको उक्त पत्र पूर्णतः नक्कली, किर्ते र कपोलकल्पित रहेको हामी स्पष्ट पार्न चाहन्छौं ।

दुई जिम्मेवार व्यक्तिहरूको नाम जोडेर परराष्ट्र सम्बन्धजस्तो संवेदनशील विषयमा यस्ता अनर्गल र आधारहीन भ्रम फैलाउनु अत्यन्तै निन्दनीय कार्य हो ।’रास्वपाले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिक लाभ लिन र दुई देशबीचको सम्बन्धमा खलल पुर्याउने उद्देश्यले प्रायोजित प्रचारबाजी गरिएको आरोप पनि लगाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us