काठमाण्डू, १५ फागुन– गृहमन्त्री ओमप्रकाश अर्यालले एकीकृत सुरक्षा योजना अनुसार मतदान केन्द्रबाट मतगणना स्थलसम्म मतपेटिका नेपाल प्रहरीले नै ढुवानी गर्ने बताएका छन ।
आज (शुक्रबार) विराटनगरमा सुरक्षा निकायहरुसँग निर्वाचन सुरक्षा सम्बन्धी छलफलपछि सञ्चारकर्र्मीसँग कुरा गर्दै सरकार प्रवक्ता समेत रहेका मन्त्री अर्यालले यस्तो बताएका हुन । उनले विगतको अभ्यासअनुसार नै सुरक्षाको घेरा कायम रहने बताएका छन । गृहमन्त्री अर्यालले भने, ‘अलमलमा पर्न जरुरी छैन ।
बाँकी काम मतदान अधिकृतले नै गर्ने हो । नेपाल प्रहरीको सहयोग लिएर गर्ने हो । त्यसको ढाँचा नै त्यसैमा उल्लेख गरेका छौ ।’ गृहमन्त्री अर्यालले मतदान केन्द्र र मतगणना स्थलको सुरक्षामा पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल र तेस्रो घेरामा नेपाली सेना परिचालन हुनेछन् ।
मन्त्री अर्यालले निर्वाचन एकीकृत सुरक्षा योजना अनुसार मतदान अधिकृतले मतपेटिका नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा घेराभित्रै मतगणना स्थलसम्म पुर्याउने व्यवस्था मिलाइएको बताए । उनले मतपेटिका ढुवानी र सुरक्षाबारे कुनै भ्रम राख्न आवश्यक नरहेको र सबै काम स्थापित सुरक्षा मापदण्डअनुसार हुने जानकारी दिए ।
निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सबै सुरक्षा निकायबीच समन्वयात्मक रूपमा काम भइरहेको मन्त्री अर्यालले बताएका छन ।