झापामा एमाले कार्यकर्ताबाट कुटिए पत्रकार

काठमाण्डु टुडे २०८२ फागुन १५ गते १३:०४ मा प्रकाशित

काठमाण्डू, १५ फागुन– झापाको कमल गाउँपालिकामा चुनावी रिपोर्टिङमा पुगेका पत्रकारमाथि एमालेका कार्यकर्ताले हातपात गरेका छन् ।

पूर्व प्रधानमन्त्री, एमाले अध्यक्ष एवं झापा– ५ का उम्मेदवार केपी शर्मा ओलीको घरदैलो रिपोर्टिङमा पुगेका पत्रकार अर्जुन आचार्यमाथि एमालेका कार्यकर्ताले हातपात गरेका हुन् ।

झापाको कमल गाउँपालिकास्थित जीवन चोकमा रिपोर्टिङका क्रममा आचार्यमाथि बिहीबार दिउँसो एमालेको भोलेन्टियर्स फोर्सका व्यक्तिहरूले आक्रमण गरेको उनीसँगै रहेका पत्रकार अमृत चिमरियाले जानकारी दिएका छन ।

पत्रकार चिमरियाका अनुसार, घरदैलोमा रहेको भोलेन्टियर्स फोर्सका कार्यकर्ता र घरदैलोमा भेटिएका महिलाहरूबीचको भिडियो खिच्न खोज्दा आचार्यमाथि हातपात भएको हो ।

‘किन खिचेको ?’ भन्दै फोर्सका कार्यकर्ताले उनीमाथि आक्रमण गरेको चिमरियाले बताएका छन् । आक्रमणबाट आचार्यको आँखा, गाला र ढाडमा चोट लागेको छ । आचार्यको मोबाइल फोनसमेत खोसेर उनीहरूले लगेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us