काठमाण्डू, १४ फागुन– पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनबारे छानबिन गर्न बनेको उच्चस्तरीय छानबिन आयोगको समय थप हुनु गलत भएको बताएका छन ।
आज (बिहीबार) नेकपाको मुख्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिँदै संयोजक प्रचण्डले यस्तो बताएका हुन । प्रचण्डले जाँचबुझ आयोगको प्रतिवेदन समयमै आउनुपर्ने पनि बताए ।
प्रचण्डले भने,‘आयोगको प्रतिवेदन समयमा नै आउनुपर्थ्यो । एकपटक सार्यो त्यो मान्न सकिने कुरा हो । गर्दागर्दै भ्याइएन होला । दुईपटक पनि मोटामोटी त्यस्तै पर्यो कि भन्न सकिने कुरा हो ।’
प्रचण्डले थप भनेका छन्, ‘तर तीनपटक र अझ अब चुनावपछि भन्ने कुरा गलत भएको छ । दोषी ठहर गरेर कारबाहीको प्रक्रिया अघि बढाउनुपर्थ्यो । ढिलासुस्ती गर्ने र समय सारेर चुनावपछि गर्ने कुरा विल्कुल सही भएको छैन ।’