मृत्यु भएका मतदाताको नाम दुरुपयोग नहोस् भन्नेमा सचेत छौँः निर्वाचन आयोग

काठमाण्डु टुडे २०८२ फागुन १३ गते १७:४८ मा प्रकाशित

काठमाण्डू, १३ फागुन– निर्वाचन आयोगले मतदाता नामावलीमा रहेका, तर मृत्यु भइसकेका व्यक्तिको नामको दुरुपयोग नहोस् भन्नेमा सचेत रहेको बताएको छ ।

आयोगका अनुसार यस्तो जिज्ञासा आयोगले स्थापना गरेको कल सेन्टरमा आउने गरेको छ । मतदाता, नागरिक र सरोकारवालाको जिज्ञासा तथा प्रश्नहरूको सुनुवाइका लागि निर्वाचन आयोगमा कल सेन्टर छ ।

निर्वाचनसँग सम्बन्धित विषयमा अलमल भए वा कुनै प्रश्न रहे निस्शुल्क टोल–फ्री नम्बर ११०२ मा कल गर्न सकिन्छ । एक जनता मतदाताले कल गरेर सोधेका छन्, ‘मतदाता नामावलीमा मृतक व्यक्तिको नाम समेत समावेश भएकोले यसको दुरुपयोग हुनसक्ने हुँदा यस सम्बन्धमा आयोगले के गर्छ ?’

जवाफमा आयोगले भनेको छ, ‘मतदाता नामावली छापिनुअघि मतदाताको मृत्यु भएको सूचना प्राप्त भएका सबै मृतकहरूको नाम मतदाता नामावलीबाट हटाइसकिएको छ ।

सूचना प्राप्त नभएका वा तोकिएको मितिभन्दा पछि मृत्यु भएका मृतकको नाम मतदाता नामावलीमा रहन्छ । यस्तो अवस्थामा निजहरूको नामको दुरुपयोग नहोस् भन्ने कुरामा आयोग सचेत छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us