प्रमाण लुकाउन सिकाएको प्रमाण भेटिएपछि पक्राउ परे हवाई व्यवस्थापन विज्ञ राजेन्द्र बहादुर सिंह

काठमाण्डु टुडे २०८२ फागुन १३ गते १६:५८ मा प्रकाशित

काठमाण्डू, १३ फागुन– चार वर्षमा मुलुकको पर्वतारोहण र ट्रेकिङ्ग क्षेत्रमा ३१७ जना पर्यटकको फेक रेस्क्यु गरेर अवैध बिमा रकम दाबी गरेको कसुरमा हवाई व्यवस्थापन विज्ञ राजेन्द्रबहादुर सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।

विमान सेवा सञ्चालक सङ्घका पूर्व उपाध्यक्ष सिंहलाई बुधवार काठमाण्डूबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी शिव कुमार श्रेष्ठले जानकारी दिएका छन ।

५६ वर्षीय सिंह काठमाण्डू महानगरपालिका–३१ का स्थानीय हुन् । मन्त्रिपरिषद्ले २०८१ चैत ४ मा गठन गरेको नागरिक उड्डयन क्षेत्रको समष्टिगत अध्यक्ष तथा विश्लेषण उच्चस्तरीय समितिको सदस्य हुन्, राजेन्द्र बहादुर सिंह ।

मन्त्रिपरिषद्ले सो समितिको संयोजकमा अनिलकुमार सिन्हालाई नियुक्त गरेको थियो । बद्री प्रसाद पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री हुँदा गठित उच्चस्तरीय समितिका संयोजक सिन्हा अहिलेका पर्यटनमन्त्री हुन् । तिनै उच्चस्तरीय समितिको सदस्य तथा हवाई व्यवस्थापन विज्ञ राजेन्द्र बहादुर सिंह फेक रेस्क्यु प्रकरणमा अहिले सिआईबीको हिरासतमा छन् ।

माउन्टेन हेलिकप्टरको पूर्व अध्यक्ष समेत रहेका सिंहले यसअघि पक्राउ परेका आरोपीलाई फेक रेस्क्युबारे प्रमाण लुकाउन सिकाएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । फेक रेस्क्यु प्रकरणमा अहिलेसम्म ९ जना पक्राउ परेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us