एक रुपैयाँ घुस लिएको प्रमाण कसैले दिए जीवनभर त्यसैको घरमा नोकर बस्छुः राजेन्द्र लिङ्देन

काठमाण्डु टुडे २०८२ फागुन १३ गते १६:१२ मा प्रकाशित

काठमाण्डू, १३ फागुन– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले कसैले आफूले एक रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणित गरे सारा राजनीतिक जीवन छोडेर त्यसको नोकर बस्न तयार रहेको तर्क गरेका छन ।

आज (बुधबार) पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन । अध्यक्ष लिङ्देनले सुशासनको सवालमा आफू प्रतिबद्ध र इमानदार रहेको पनि बताएका छन ।

 उनले भने, ‘कसैले राजेन्द्र लिङ्देनले एक रुपैयाँ भ्रष्टाचार गरेको छ, र मैले कुनै काम गराउँदाखेरि एक रुपैयाँ घुस लिएको छु अथवा मसँग घुस लिएको छ भन्ने प्रमाणित गर्छ भने म सारा राजनीतिक जीवन छोडेर त्यसको नोकर बस्न तयार छु भनेर ललकारेको मान्छे हुँ म।

हामी सुशासनको सवालमा पूर्णरुपमा प्रतिबद्ध र इमानदार छौँ मात्र होइन, हामीले मौका पायौँ भने भ्रष्टाचारीको टाउकोमाथि जातो पनि चलाउँछौँ ।’ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार सम्बन्धी छानबिनको फाइलबाट आफूले अघि बढाएको बताएका छन ।

उनले भने, ‘लेखा समितिले पोखरा र भैरहवा विमानस्थलमा भएको भ्रष्टाचारको बारेमा छानबिन गर्ने दुइटा उपसमिति एकैसाथ बनायो, एकैदिन बनायो। पोखरामा हामीले छानबिन गर्‍यौँ, परिणाम दियौँ ।

र आज कोही खोरमा छन्, कोही खोरमा जाने लाइनमा छन्। तर भैरहवाको त फाइल पनि खुलेन। अत्तोपत्तो पनि छैन।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us