संविधान संशोधनमा योगेश भट्टराईका ५ प्रस्ताव, मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित

काठमाण्डु टुडे २०८२ फागुन १३ गते १३:४४ मा प्रकाशित

काठमाण्डू, १३ फागुन– पूर्व प्रधानमन्त्री एमाले उपमहासचिव योगेशकुमार भट्टराईले संविधान संशोधनका एजेण्डामाथि पनि छलफल गर्न मतदाताहरुसँग अनुरोध गरेका छन ।

आज (बुधबार) भिडियो सन्देश मार्फत् भट्टराईले यस्तो अनुरोध गरेका हुन । एमाले उपमहासचिव भट्टराईले संविधानमा संशोधन गर्नुपर्ने पाँच एजेण्डा प्रस्तुत गर्दै छलफलका निम्ति आग्रह गरेका छन ।

सबैजसो दलहरुले घोषणापत्रमा संविधान संशोधन गरिने प्रतिबद्धता सार्वजनिक गरेकाले संशोधनका एजेण्डा आफूले अगाडि बढाएको पनि उनले बताएका छन । भट्टराईले संविधानमा संशोधन गर्नुपर्ने पाँच एजेण्डा प्रस्तुत गरेका छन् । उनको पहिलो प्रस्ताव छ, स्थानीय तहको संख्या घटाउने र वडाको आकार बढाउने ।

यसो गर्दा प्रशासनिक खर्च घट्ने र स्थानीय सरकारको प्रभावकारिता पनि बढ्ने भट्टराईको तर्क छ । उनले स्थानीय तहको संख्या ७५३ बाट घटाएर पाच सय मुनि झार्नुपर्ने पनि प्रस्ताव गरेका छन् । दोस्रो प्रस्ताव छ– प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री । स्थानीय सरकार जस्तै प्रदेशमा पनि प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री हुने र पाँच जना भन्दा बढी मन्त्री राख्न नपाइने व्यवस्था संविधानमै गर्नुपर्ने उनले बताएका छन ।

प्रदेश सभा निर्वाचनमा समानुपातिक प्रणाली हटाउने र प्रत्यक्षबाटै आधा सिट निर्वाचित भएर आउने व्यवस्था गर्न सकिने भट्टराईको तर्क छ । तेस्रो प्रस्तावमा उनले प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचन प्रणाली सच्याउनुपर्ने उल्लेख गरेका छन । समावेशीतालाई सुनिश्चित हुनेगरी यो दुवै सभाको निर्वाचन प्रणाली सच्याउन सकिने पनि बताएका छन ।

अर्को प्रस्तावमा भट्टराईले संवैधानिक परिषद्को संरचना र सिफारिसको व्यवस्था सच्याउनुपर्ने पनि बताएका छन । दलगत भागबण्डाका आधारमा हुने सिफारिस सच्याउन संविधानमै संशोधनको आवश्यकता उनले देखेका छन् । सँगै, संवैधानिक आयोगहरुको संख्या घटाउन सकिने पनि भट्टराईले विकल्प दिएका छन् ।

दलहरुको आन्तरिक लोकतन्त्रबारे व्यवस्था पनि संविधानमै गर्नुपर्ने उनले बताएका छन । विशेषगरी मुख्य कार्यकारी पदमा दुईपटक भन्दा बढी रहन नपाउने व्यवस्था संविधानमै गर्नुपर्ने प्रस्ताव भट्टराईले गरेका छन । पाँचौ प्रस्ताव भने भ्रष्टाचार नियन्त्रण गर्ने निकायहरुबारे छ ।

अख्तियार, सम्पत्ति सुद्धिकरण, केन्द्रीय अनुसन्धान ब्यूरो जस्ता निकायको पुनसंरचना गरी स्वतन्त्र र पारदर्शी बनाउनुपर्ने भट्टराईले औल्याएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us