काठमाण्डू, १२ फागुन– पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पाटी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनपछि बन्ने सरकारमा नेकपाको भूमिका निकै महत्त्वपूर्ण हुनेवाला रहेको दाबी गरेका छन ।
आज (मंगलबार) नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा एमाले निकट मुक्ति समाज दोलखाका नेता तथा कार्यकताहरुलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले यस्तो दाबी गरेका हुन । उनले आगामी निर्वाचनमा अधिकांश क्षेत्रमा नेकपाको जित सुनिश्चित रहेकाले निर्वाचनपछि बन्ने सरकारमा नेकपाको भूमिका निकै महत्त्वपूर्ण हुनेवाला रहेको पनि बताएका छन ।
निर्वाचन आउन केही दिनमात्रै बाँकी रहेको अवस्थाका सबै नेता तथा कार्यकर्ताले अझ धेरै मेहनत गरे नेकपा एक नम्बरको पार्टी हुने पनि उनले बताए । प्रचण्डले नेकपा गठन भएपछि ध्रुवीकरणको नयाँ माहौल बनेको भन्दै फेरी सबै वामपन्थी कम्युनिस्ट एकै ठाउँमा हुने धारणा राखे ।
उनले एमालेमा केपी ओलीको कार्यशैलीप्रति निकै विरोध रहेकाले एमालेकै नेता तथा कार्यकर्ताले फेरि एकताको झन्डा उठाउन सहयोग गर्ने समेत बताए ।
देशमा वाम आन्दोलनलाई सशक्त बनाउन सबै क्रान्तिकारी कम्युनिस्टहरू एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको पनि बताएका छन ।