टिपरको ठक्करबाट ट्राफिक प्रहरीको मृत्यु

काठमाण्डु टुडे २०८२ फागुन ११ गते २०:२६ मा प्रकाशित

धनुषा, ११ फागुन- धनुषामा सवारी दुर्घटना हुँदा एक जना ट्राफिक प्रहरीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुर उपमहानगरपालिका–४, मुरलीचोकमा मंगलबार भएको सवारी दुर्घटनामा मोटरसाइकल चालक ट्राफिक प्रहरी हवल्दार चन्द्रकला महतोको मृत्यु भएको हो ।

महतो जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीमा कार्यरत थिइन् । प्रहरीका अनुसार भ्रमरपुराचोकबाट मुरलीचोकतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ प ०१०४ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०२–००२ प ७३५२ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख सूर्यबहादुर शाहीले जानकारी दिए ।

महतोको शव परीक्षणका लागि प्रादेशिक अस्पताल, जनकपुर पठाइएको छ ।
..
मोटरसाइकललाई ठक्कर दिने टिपर चालक, टिपर तथा मोटरसाइकल ट्राफिक प्रहरी कार्यालय जिरोमाइलले आफ्नो नियन्त्रणमा राखी अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us