निर्वाचन हुन नदिने तत्त्व सक्रिय छन्, सरकार दृढ हुनुपर्‍योः कांग्रेस

काठमाण्डु टुडे २०८२ फागुन १० गते १८:३० मा प्रकाशित

काठमाण्डू, १० फागुन– कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन हुन नदिने तत्त्व सक्रिय रहेको दाबी गरेको छ । ती तत्त्वहरूको रणनीति असफल बनाउँदै ससमयमै निर्वाचन गराउन सरकार द‌ृढ हुनुपर्ने पनि कांग्रेसले बताएको छ ।

आज (आइतबार) कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता देवराज चालिसेले यस्तो बताएका हुन । उनले शासनको वैधता जनताको मत भएको पनि बताएका छन ।

कांग्रेस प्रवक्ता चालिसले भने, ‘निर्वाचन समयमा हुन नदिन विभिन्न तत्त्वहरू लागिरहेका छन् । सरकार दृढ भएर समयमै निर्वाचन सम्पन्न गर्नुपर्छ, ‘लोकतान्त्रिक शासन व्यवस्थामा शासनको वैधताको स्रोत जनताको मत हो । लोकतान्त्रिक पार्टीले जन सर्वोच्चतालाई स्वीकार्नुपर्छ । हामीले स्वीकारेका छौँ ।’

उनले सबै पार्टीहरूले निर्वाचनमा भाग लिनेबाहेक विकल्प सोच्न नहुने पनि बताए । पूर्वराजा ज्ञानेन्द्रले निर्वाचन अगाडि राष्ट्रिय सहमतिको कुरा गरेका छन् नि भन्ने पत्रकारहरूको प्रश्नमा प्रवक्ता चालिसेले सबैको व्यक्तिगत स्वतन्त्रता हुने भन्दै निजी अभिव्यक्तिमा कुनै टिप्पणी नरहेको पनि बताएका छन ।

उनले भने, ‘सबैको व्यक्तिगत स्वतन्त्रता हुन्छ । निजी स्वतन्त्रताप्रति कुनै टिप्पणी छैन, ‘तर शासनको वैधताको स्रोत निर्वाचन र जनताको मत हो ।

निर्वाचनपछि बन्ने जनमतको सरकारले जनताका समस्या समाधान गर्नेछ ।’ उनले विभिन्न पार्टीबाट कांग्रेसमा नेता कार्यकर्ता प्रवेश गरिरहेका र ती प्रवेशले पार्टी बहुमत ल्याउने बिन्दुमा पुग्न लागेको समेत बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us