एकैपटक दुई खुसीको पर्खाइमा छिन् रञ्जु दर्शना

काठमाण्डु टुडे २०८२ फागुन १० गते १८:०९ मा प्रकाशित

 

काठमाण्डू, १० फागुन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता रञ्जु दर्शना एकैपटक दुई वटा खुसीको प्रतीक्षामा छिन् ।

उनको पहिलो खुसीको कारण हो, सन्तान आगमन । र, दोश्रो २१ फागुनको चुनावमा जित । रञ्जु काठमाण्डू–१ बाट प्रत्यक्ष उम्मेदवार छिन् । चिकित्सकले १८ फागुनको समय दिएका छन् । आमा बन्न करिब ८ दिन मात्र बाँकी छँदा सोमबार उनी बिहानैदेखि घट्टेकुलो क्षेत्रमा घरदैलोमा व्यस्त थिइन् । रञ्जुका अनुसार डाक्टरहरुले १८ गते अगाडिका लागिसमेत तयार रहन भनेका छन् । ‘डाक्टरहरुले जतिबेला पनि बच्चा जन्मिन सक्छ, तयारी अवस्थामा रहनुस् भन्नुभएको छ’, उनले भनिन् ।

घरदैलोका क्रममा खास गरी महिला मतदाताहरूब्ँट माया र चिन्ता दुवै झल्किन्छ । मतदाताहरू उनको अवस्थाप्रति संवेदनशील देखिन्छन् ।
महिला मतदाताले यसरी सक्रिय रुपमा मत माग्न हिंड्दा शिशु र आमा दुवैको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै रञ्जुलाई धेरैपटक सचेत पनि गराएका छन् । ०७० सालदेखि चुनाव लड्दै आएको र राजनीतिक रुपमा पहिलाभन्दा धेरै परिपक्वता देखिएकाले आफूहरुले घण्टी चिन्हमा भोट दिएर जिताउने धेरै मतदाताले रञ्जुलाई बचन दिएका छन् । ‘हामीले भोट दिने तपाईंलाई नै हो । तपाईं भन्दा पहिला नै हामीले तपाईंका एजेण्डा र संघर्षबारे बुझिसकेका छौं । यसरी जोखिम मोलेर हिँड्नुपर्दैन, स्वास्थ्यको ख्याल गर्नुस्’, मतदाताको सुझाव उद्धृत गर्दै उनी भन्छिन् । बानेश्वरको मिलनचोकमा घरदैलो गर्दा त दुई जना महिला भावुक नै भए । उनको अवस्था देखेर ती महिलाका आँखा रसाए ।

‘यस्तो कष्ट उठाएर घरदैलो गर्न सक्ने उम्मेदवारले जितेपछि जस्तोसुकै अवस्थामा पनि जिम्मेवारी पूरा गर्न सक्छ भन्ने विश्वास पैदा भएको’ भन्ने मतदाताको भनाइलाई रञ्जुले मुलुकका लागि काम गर्ने ऊर्जाका रुपमा लिएकी छन् । आफ्नो खानपान नबिग्रियोस् भनेर मतदाताले खानेकुरा दिने गरेको समेत रञ्जुले बताइन् । ‘स्न्याक्सहरु किनेर दिनुहुन्छ । उभिएर कुरा गरेको देख्यो भने बसेर आरामले कुरा गर्नुस् भनेर कुर्सी राििखदिनुहुन्छ’, रञ्जु भन्छिन्, ‘मतदाताको स्नेह देखेर कतिबेला भावुक र कतिबेला उत्साहित हुन्छु ।’

कतिपय मतदाताले जन्मदै गरेको शिशु छोरा वा छोरी भनेरसमेत जिज्ञाशा राख्ने गरेका छन् । धेरैजनाले छोरा कि छोरी भन्ने जिज्ञासा राख्नुहुन्छ । हामी भन्दैनौं’, चुनावी अभियानमा सघाइरहेका रञ्जुका श्रीमान किशु कुइँकेलले भने, ‘हामीले डाक्टरलाई ‘अल्ट्रासाउन्ड’ रिपोर्टमा छोरा वा छोरी के छ भन्ने समेत सोधेका छैनौं । हामीलाई नै ‘सप्राइज्ड’ होस् भन्ने चाहन्छौं ।’


निर्वाचनको मिति २१ फागुन, चिकित्सकले आमा बन्न दिएको मिति १८ फागुन । दुवै मिति नजिकिँदै गर्दा उनी भन्छिन्, ‘दुवै नजिताका लागि हामी आतुर छौं ।’
रञ्जुले यसलाई असामान्य नभई जीवनको स्वभाविक प्रक्रियाका रुपमा लिएकी छन् । ‘रञ्जुले यसलाई नेचुरल प्रक्रिया हो भनेर मतदाताकोमा जानु र मत माग्नुलाई दैनिक रुपमा अफिस गइरहेको जस्तो गरी सामान्य रुपमा लिएकी छन्’, चुनावी अभियानमा सघाइरहेका रञ्जुका श्रीमान कुइँकेलले भने ।

चिकित्सकहरुले पनि धेरै नहिंड्न सुझाव दिएका छन् । तर, रञ्जु आफ्नो भन्दा देशको प्रशव बेदनाको बढी चिन्ता लागेको बताउँछिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us