काठमाण्डू ४ फागुन– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनमा बढ्दो खर्च र यसको व्यापारीकरणप्रति चिन्ता व्यक्त गरेका छन् ।
निर्वाचन खर्चको व्यवस्थापन र निर्वाचनमा महिला सहभागिता सम्बन्धी निर्वाचनमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्ठापूर्वक सम्पन्न गर्न सबै सरोकारवालाहरू इमान्दार हुनुपर्ने उनले बताए । कार्यवाहक आयुक्त भण्डारीले नेपालको निर्वाचनमा धनको प्रभाव आजको मात्र समस्या नभई यसको जरा इतिहाससम्म पुगेको पनि बताएका छन ।
उनले नवराज सुवेदीको आत्मवृत्तान्तलाई उद्धृत गर्दै २०३६ सालको जनमत सङ्ग्रहदेखि नै नेपालको राजनीतिमा व्यापारीकरणको प्रवेश भएको पनि बताएका छन ।
उनले भने, ‘त्यसबेला सूर्यबहादुर थापाले केही व्यवसायीहरूलाई सर्पको छाला विक्री गर्ने अनुमति दिएर राजनीतिमा व्यापारीकरण शुरु गरेको विषयहरू सार्वजनिक भएका थिए ‘त्यसयता हरेक निर्वाचनमा खर्चको होडबाजी बढ्दै गएको छ, जुन लोकतन्त्रका लागि सुखद् सङ्केत होइन ।’
भण्डारीले विगतका निर्वाचनहरू र वर्तमानको खर्चिलो प्रवृत्तिको तुलना गरे । २०४३ सालको राष्ट्रिय पञ्चायतको निर्वाचनको उदाहरण दिँदै उनले जनपक्षीय उम्मेदवारहरूले जनताकै पकेटको पैसाबाट स्वतःस्फुर्त रूपमा चुनाव लडेको स्मरण गरे ।