सैनिक दिवसमा विदेशी सेनाको सहभागिता स्वभाविक प्रक्रियाः रामप्रसाद भण्डारी

काठमाण्डु टुडे २०८२ फागुन ४ गते १६:०५ मा प्रकाशित

काठमाण्डू ४ फागुन– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सैनिक दिवसका अवसरमा टुँडिखेलमा भएको विदेशी सैनिकहरूको प्रदर्शनलाई विश्वव्यापी परिपाटी र मित्रताको प्रतिक भएको तर्क गरेका छन ।

आज (सोमबार) निर्वाचनमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरुसँगको छलफलका क्रममा उनले यस्तो बताएका हुन् । उनले विभिन्न देशका सैनिकहरूबिच हुने तालिम आदानप्रदान र मैत्रीपूर्ण प्रदर्शनलाई नकारात्मक रूपमा हेर्न नहुने समेत बताएका छन ।

भण्डारीले सैनिक दिवसको उपलक्ष्यमा अमेरिकी, बेलायती र भारतीय सैनिकका टुकडीहरूले आफ्नो कला प्रदर्शन गरेको उल्लेख गरे । उनकाअनुसार यस्ता प्रदर्शनहरू मित्र शक्तिहरूबिचको सम्बन्ध प्रगाढ बनाउन र तालिमको अनुभव साटासाट गर्न विश्वभरि नै हुने गरेका छन् ।

सामाजिक सञ्जालमा केही व्यक्ति र राजनीतिक दलका नेताहरूले अमेरिकी सैनिकको नाचलाई लिएर सरकारको आलोचना गरेकोप्रति लक्षित गर्दै भण्डारीले यसलाई मानसिकताको उपज भएको तर्क समेत बताए ।

विदेशी सेनाको उपस्थितिलाई लिएर ‘खबरदार’ भन्दै गरिएको टिप्पणीहरूतर्फ संकेत गर्दै उनले देशका जिम्मेवार व्यक्तिहरूले पनि यस्ता विषयमा नकारात्मक मानसिकता राख्नु दुःखद् भएको पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us