काठमाण्डू, ३ फागुन– आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले दुई पटकको टी२० विश्वकप विजेता वेस्ट इन्डिजसँग पराजित हुँदै समूह चरणबाटै बाहिरिएको छ ।
लगातार तीन जितपछि वेस्ट इन्डिज सुपर एटमा पुग्ने पहिलो टिम बन्दा लगातार तीन हार व्यहोरेको नेपाल समूह चरणबाट बाहिरिने दोस्रो टोली बन्यो । नेपाल यसअघि इंग्ल्याण्ड र इटलीसँग पराजित भएको थियो । समूह सी मा वेस्ट इन्डिजले अपराजित रहँदै ६ अंक जोडेर शीर्ष स्थानमा छ । दुई जित र एक हारबाट इंग्लयाण्ड ४ अंकसहित दोस्रो स्थानमा छ । समान २ अंक जोडेका स्कटल्याण्ड र इटली क्रमशः तेस्रो र चौथो स्थानमा छ ।
अब वेष्ट इन्डिज र इंग्लयाण्डले इटलीसँग खेल्न बाँकी छ । यस्तोमा इटलीलाई हराएमा इंग्ल्याण्ड सुपर एटमा पुग्नेछ । इटलीका लागि भने सुपर एट पुग्न बाँकी दुवै खेल जित्नुपर्ने हुन्छ । नेपाल लगातार तीन हारपछि यस समूहमा अंकविहिन छ । अब मंगलबार स्कटल्याण्ड विरुद्ध हुने अन्तिम खेलमा नेपालका लागि प्रतिष्ठाको लडाईँ मात्र हुनेछ ।
नेपालले दिएको १३४ रनको लक्ष्य वेस्ट इन्डिजले १५.२ ओभरमा १ विकेट गुमाएर पूरा गरेको हो । वेस्ट इन्डिजका लागि कप्तान शाई होपले ४४ बल खेल्दै ५ चौका र ३ छक्का मदतमा अविजित ६१ रन बनाए । शिमरोन हेतमायरले ४३२ बल मा ४ चौका र २ छक्का मदतमा अविजित ४६ रन बनाए ।
दोस्रो विकेटका लागि होप र हेतमायरले अविजित ९१ रनको साझेदारी गरे । पहिलो विकेटका लागि कप्तान शाई होप र ब्राण्ड किङले ४३ रनको साझेदारी गरेका थिए । ब्राण्डन किंङले १७ बलमा २२ रन बनाए ।नेपालका लागि बलिङमा नन्दन यादवले १ विकेट लिन सफल भएका थिए ।
त्यसअघि मुम्बईस्थित वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर १३३ रन बनाएको थियो । नेपालले ब्याटिङमा कमजोर सुरुवात गरेपनि उपकप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतकमा हेर्न लायक स्कोर बनाएको थियो ।