काठमाण्डू, २ फागुन– कांग्रेस सभापति गगन थापाले आफू चुनाव लड्न मधेश झर्दा आगन्तुकजस्तो देखिए पनि अहिले मधेशी परिवारको अंग बन्ने क्रम सुरु भइसकेको बताएका छन ।
आज (शनिबार) सर्लाही–४ रामनगरमा आयोजित चुनावी कार्यक्रममा बोल्दै सभापति थापाले यस्तो बताएका हुन । उनले भने, ‘म यहाँ आउँदै गर्दाखेरी आगन्तुकजस्तो भएर आएको छु । गाउँ नयाँ, ठाउँ नयाँ, धेरै कुरा नयाँ छ । पहिरन नयाँ, खाना नयाँ,’ सभापति थापाले भने, ‘तर यो मेरो र म यो परिवारको अंग बन्ने क्रम सुरु भइसक्यो ।
किनकि म त्यो नाता जोड्छु भनेरै आएको हो ।’ निर्वाचन नै जित्ने कुरामा आफ्ना लागि काठमाण्डूबाट सर्लाही आउनै नपर्ने अवस्था रहेको उनले दोहोर्याए । ‘म सभापति भइसकेपछि त्यहाँ अनुकुलता नै अनुकुलता थिए ।
तर, म यहाँ केही नयाँ सोच ल्याएर आएको हुँ,’ उनले भने । कांग्रेसको सभापति भएपछि मधेशबाटै जितेर आउनुपर्ने आवश्यकता महशुस भएकाले मधेश झरेको उनले बताए । ‘कांग्रेसको हुटहुटी नै त्यसमा छ ।
नेपाली कांग्रेसका नेता बिपी कोइरालाले २०३६ सालको जनमत संग्रहपछाडि जब हामी हार्यौँ । त्यसपछि राजाले बनाएको संशोधन समितिलाई सुझाव दिने कि नदिने भनेर निर्णय गर्दा बिपीले दिने भनेर निर्णय गर्नुभएको रहेछ,’ उनले भने ।
त्यो सुझावमा रहेका तीन बुँदामध्ये पहिलो बुँदामै मधेशमा रहेका नागरिकलाई नागरिकता दिनुपर्छ भन्ने कुरा उल्लेख गरेको उनले बताए ।