टिप्पर र मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु

काठमाण्डु टुडे २०८२ फागुन २ गते १८:०५ मा प्रकाशित

काठमाण्डू, २ फागुन– पाल्पामा टिप्पर र मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको कालिगण्डकी गाउँपालिका पुर्तिघाटका ३१ वर्षीय मिलन सार्की र अर्को नाम नखुलेका महिला रहेको जिल्ला प्रहरी कार्यलय पाल्पाले जानकारी दिएको छ ।

सिद्धार्थ लोकमार्गअन्तर्गत तानसेन–बुटवल सडकखण्डको तिनाउ गाउँपालिका–३ दोभानमा बुटवलदेखि पाल्पातर्फ आउँदै गरेको लु ४९ प ७७९५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको लु २ ख १८८३ नम्बरको टिप्पर एकआपसमा ठक्कर खाएर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) होमप्रकाश चौधरीका अनुसार दुर्घटनापछि घाइते भएका दुवै जनालाई प्रहरीले उद्धार गरेर उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको थियो ।

अस्पतालमा पुग्दा चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेको डीएसपी चौधरीले जानकारी दिएको छ । टिप्पर चालकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us