काठमाण्डू, २ फागुन– प्रहरीले सुनसरीबाट पेस्तोल र गोली सहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको अररिया ग्राम पञ्चायत बस्ने ३६ वर्षीय राम थेलन पासवान रहेको सुनसरी प्रहरीले जनाएको छ ।
उनलाई सुनसरी गाउँपालिका–३ जमुवा सीमा नाकाबाट पक्राउ गरिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । आरोपीको साथबाट सशस्त्र प्रहरीले इटली मेड पेस्तोल एकथान र ३ राउण्ड गोली बरामद गरेको छ ।
शुक्रवार साँझ सशस्त्रको निर्वाचन क्षेत्र सुरक्षा बेसबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । आरोपीको साथबा १ ग्राम खैरो हेरोइन पनि बरामद गरिएको डीएसपी थापाले जानकारी दिए ।
नम्बर–१ बराह बाहिनीका डीआईजी मनिष थापाले सीमा नाकामा उच्च सतर्कता अपनाउन निर्देशन दिएसँगै सशस्त्रले सीमानामा चेकजाँचलाई तीव्रता दिएको छ ।