रुकुम पश्चिममा एक पुरुषको शव भेटियो

काठमाण्डु टुडे २०८२ फागुन १ गते १५:४२ मा प्रकाशित

काठमाण्डू, १ फागुन– रुकुम पश्चिममा एक व्यक्तिको शव भेटिएको छ । खोलामा डुबेको अवस्थामा शव फेला परेको रुकुम पश्चिम प्रहरीले जनाएको छ ।

त्रिवेणी गाउँपालिका–२ बर्खे टाकुराका ४६ वर्षीय लालबहादुर कठायत सोही वडास्थित रुघा खोलामा डुबेको अवस्थामा मृत फेला परेका हुन् ।

स्थानीयले आज बिहान खोलामा डुबेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । खोला तर्ने क्रममा चिप्लिएर लडेको हुनसक्ने र निस्किन नसकेपछि डुबेर मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिएका छन ।

कठायतको शव भेटिएको खोला बगाउन सक्ने खालको भने छैन । रातिको समय भएकोले कसैले नदेखेको र खोला बाहिर निस्कन सक्ने अवस्था नभएपछि उनको मृत्यु भएको हुनसक्ने पुनले जानकारी दिएका छन । कठायतको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले पुर्‍याइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us