पूर्वराजा आउँदा विमानस्थल परिसर अस्तव्यस्त, यात्रुलाई सास्ती

काठमाण्डु टुडे २०८२ फागुन १ गते १३:३६ मा प्रकाशित

काठमाण्डू, १ फागुन– पूर्वराजा ज्ञानेन्द्र शाह आउने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपरको अवस्था अस्तव्यस्त भएको छ ।

राजावादी समर्थकहरू अहिले विमानस्थल गेट बाहिर पुगेर नाराबाजी गरिरहेका छन् । उनीहरूले ‘हाम्रो राजा हाम्रो देश, राजा आउ देश बचाऊ’ लगायतका नारा लगाइरहेका छन् ।

विमानस्थलमा स्थानीय प्रशासनले निषेधाज्ञा समेत जारी गरेको छ । यसैबीच विमानस्थलमा पुगेका यात्रुहरू समस्यामा परेका छन् । विमानस्थल आसपासमा बाक्लो संख्यामा राजावादी समूहका समर्थकहरू पुगेपछि यात्राका लागि पुगेका यात्रुहरू समस्यामा परेका हुन् ।

उनीहरू हतार हतार विमानस्थल गेटबाटै सुटकेश घिसारेर भित्र प्रवेश गरिरहेका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईं पनि केहीबेर अघि विमानस्थल पुगेका छन् ।

उनी समर्थकहरूलाई विमानस्थल बाहिर राखेर अहिले भित्र प्रवेश गरेका छन् । समर्थकहरूलाई आफू पूर्वराजा शाहलाई लिएर आउने भन्दै भित्र प्रवेश गरेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us