नेपालले दियो इटलीलाई १२४ रनको लक्ष्य

काठमाण्डु टुडे २०८२ माघ २९ गते १७:०६ मा प्रकाशित

काठमाण्डू, २९ माघ– आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले इटलीका स्पीनरविरुद्ध संघर्ष गर्दा १२३ रनमै अलआउट भएको छ ।

मुम्बईस्थित वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९.३ ओभरमा सबै विकेट गुमाएर १२३ रन बनाउन सफल भएको हो । नेपालको लागि आरिफ शेखले सर्वाधिक २७ रन बनाए । रोहित पौडेलले २३ र आसिफ शेखले २० रन जोडे । बाँकी खेलाडीले २० रनको आँकडा समेत छुन सकेनन् ।

नेपालको स्कोर ८ रनमात्र हुँदा ओपनर कुशल भुर्तेल पहिलो विकेटको रुपमा आउट भएका थिए । कुशल भुर्तेल १० बलमा मात्र ५ रन बनाएर आउट भएका थिए । सुरुवाती ७ बल डट खेलेका भुर्तेलले जम्मा १ चौका प्रहार गरे । उनलाई इटलीका अली हसनले जस्टिम मोस्काबाट क्याचआउट गराए ।

त्यसपछि आएका कप्तान रोहितले आज केही छिटो ब्याटिङ गरेका थिए । उनले १४ बल खेल्दै २ छक्का प्रहार गरी २३ रन बनाए । रोहित सातौं ओभरको अन्तिम बलमा क्रिसन कालुगामागेको बलमा ग्रान्ट स्टेवार्टबाट क्याचआउट भए । अर्का ओपनर आसिफले २० बलमा २० रन जोड्दा २ चौका प्रहार गरे ।

उनलाई आठौं ओभरको दोस्रो बलमा स्टम्पिङको शिकार भए । इटलीका विकेटकिपर जियन पिएरो मिडले निकै चलाखीपूर्ण तरिकाले आसिफलाई स्टम्प गराएका थिए । पहिलो विकेट गुगेपछि कप्तान रोहित र आसिफले इनिङ्स बिल्ड गर्दै सेट भएका थिए ।

दोस्रो विकेटका लागि आसिफ र कप्तान रोहित पौडेलको ४१ रनको साझेदारी गरेका थिए । नेपालको स्कोर ४९ हुँदा दुवै खेलाडी आउट भए ।त्यसपछि उपकप्तान दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले नेपालको इनिङ्स सम्हाल्दै अघि बढाए । उपकप्तान दीपेन्द्रल १८ बलमा १७ रन बनाएर आउट भए । उनले कुनै पनि बाउण्ड्री प्रहार गर्न सकेनन् । चौथो विकेटका लागि ४४ रनको साझेदारीपछि दीपेन्द्र सिंह ऐरी १४ओ ओभरको पाँचौ बलमा आउट भए ।

उनलाई क्रिसन कालुगामागेले बोल्ड गरे । पहिलो खेलमा इंग्ल्याण्ड विरुद्ध आक्रमक ब्याटिङ गर्दै सबैको प्रशंसा र चर्चा कमाएका लोकेश बम आज ५ बल खेल्दै ३ रन बनाएर आउट भए । एक छेउ सम्हालिरहेका आरिफ शेख नेपालको स्कोर १०० पुगेपछि छैटौ विकेटका रुपमा आउट भए ।

२४ बलमा ३ चौका प्रहार गरी २७ रन बनाएका आरिफलाई जेजे स्मट्सले क्याम्पापियानोबाट क्याचआउट गराए । त्यसपछि १७औं ओभरमा नेपालले २ विकेट गुमायो । गुल्सन झा ४ बलमा ३ रन बनाएर आउट भए । उनलाई क्रिसन कालुगमागेले आउट गरे । सोही ओभरमा नन्दन यादव खाता नखोली रनआउट भए ।

त्यसपछि भने नेपाली बलरद्वय करण केसी र सन्दीप लामिछाने मिलेर इनिङ्स सम्हालेका थिए । नवौँ विकेटका लागि करण र सन्दीपले २१ रनको साझेदारी गरे । सन्दीप अन्तिम ओभरबो पहिलो बलमा ५ रन बनाएर आउट भए । नेपालको इनिङ्सलाई दबाबमा राख्न इटलीका स्पीनर हावी भए ।

इटलीका स्पीनर मिलेर ६ विकेट लिएका थिए । इटलीका लागि लेगस्पीनर क्रिसन कालुगमागेले सर्वाधिक ३ विकेट लिए । यस क्रममा उनले ४ ओभरमा १८ रन खर्चिए । यस्तै अफ ब्रेक बलिङ गर्ने बेन्जामिन मानेन्टीले ४ ओभरमा ९ रन मात्र खर्चेर २ विकेट लिए ।

गत महिना अष्ट्रेलियामा भएको बिग बास लिगमा सिड्नी सिक्सर्सबाट खेलेका उनी त्यसलगत्तै इटली टिममा समावेश भएका थिए । टी २० विश्वकपअघि उनले जम्मा ३ विकेट लिएका थिए । आज जेपाल विरुद्धको प्रदर्शन उनको उत्कृष्ट बलिङ प्रदर्शन हो ।

अर्का स्पीनर जेजे स्मट्सले १ विकेट लिए । यस बाहेक पेस बलर अली हसन र जसप्रित अलीले १–१ विकेट लिए । नेपालका एक खेलाडी रनआउट भए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us