काठमाण्डू, २९ माघ– नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व मन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझी र बेचन झाको मुद्दाको सुनुवाइ स्थगित भएको छ ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय सूर्यनाथप्रकाश अधिकारी र गोपालप्रसाद बास्तोलाको इजलासमा सुनुवाइका लागि तोकिएको पेसी रायमाझी तर्फका कानुन व्यवसायीले निवेदन दिएर स्थगित गराएका हुन् । मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७१ अनुसार थुनामुक्तको माग गर्दै रायमाझी र झाले दिएको निवेदन जिल्ला अदालत काठमाण्डू अस्वीकार गरेपछि सो उपर उच्च अदालत पाटन गएका हुन् ।
पुस २५ गते नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका रायमाझीले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७१ (२) बमोजिम निवेदन दिएका हुन् । जिल्ला अदालत काठमाण्डूका न्यायाधीश सुदर्शन लामिछानेको इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७१ (२) अन्तर्गत थुनामुक्त गर्न अस्वीकार गरेपछि रायमाझी सो उपर उच्च अदालत पाटन पुगेका हुन् ।
यस्तै बेचन झाले जिल्ला अदालतले छाड्न अस्वीकार गरेपछि पुस ११ गते उच्च अदालत पाटनमा निवेदन दिएका थिए । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७१ (२) मा दफा ६७ वा दफा ६८ बमोजिम थुनामा परेको कुनै अभियुक्त कसुरदार होइन भन्ने प्रमाणित हुन सक्ने कुनै मनासिब आधार प्राप्त हुन आएमा मुद्दाको कारबाही जुनसुकै अवस्थामा पुगेको भए पनि त्यस्तो विषयमा सुनुवाइ गरी अदालतले निजलाई थुनाबाट छाड्ने आदेश दिन सक्ने उल्लेख छ ।
रायमाझीले दफा ७१ (२) मा टेकेर जिल्ला अदालतमा निवेदन दिएका हुन् ।