काठमाण्डू, २९ माघ– एमाले सचिव एवं काठमाण्डू–४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. राजन भट्टराईले भदौ २३ र २४ को घटनाका दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने बताएका छन ।
एमाले नेता भट्टराईले दुवै दिनको घटनाको निष्पक्ष छानबिन गरेर दोषीमाथि कारबाही हुनुपर्ने पनि बताएका छन । आज (बिहिबार) काठमाण्डूमा सञ्चारकर्मीसँग कुराकानी गर्दै भट्टराईले जेनजी पुस्ताले उठाएका जायज मागको विपक्षमा नेकपा एमाले नभएको भन्दै दुवै घटनाको निष्पक्ष छानबिन हुनुपर्ने पनि बताएका छन ।
एमाले सचिव भट्टराईले भने, ‘भदौ २३ गते बिहान शान्तिपूर्ण भेला भएर दिउँसो मानिसहरू एभरेस्ट होटल पुग्दासम्म राखेका मागको हामीले स्यालुट गर्नुपर्छ । युवा पुस्ताले राखेका मागमा हाम्रो विमति थिएन, ‘जब निषेधित क्षेत्र तोडेर सिधै संसद् भवनमाथि आक्रमण र आगजनी गरियो त्यहाँबाट छानबिन गरौँ ।’
नेता भट्टराईले त्यसरी गरिने छानबिनमा नेकपा एमालेको जुनसुकै तहको नेता दोषी भए पनि त्यो दोष भोग्न तयार रहेको पनि बताएका छन । उनले भने, ‘त्यो छानबिनमा जो जो दोषी छन् । त्यसभित्र नेकपा एमालेको कुनै तहको कोही नेता पनि दोषी छ भने हामी त्यसको दोष भोग्न तयार छौ ।
तर छानबिन निष्पक्ष हुनुपर्छ, ‘ती अवोध बालबालिका जसलाई शान्तिपूर्ण आन्दोलन हुन्छ भनेर त्यहाँ लगियो र पछि ढाल बनाएर प्रयोग गरियो ।’ उनले योजनाबद्ध र पूर्व तयारी गरेर २३ गतेको घटना गराएर २४ गते विध्वंस मच्चाउने रणनीति भएको दाबी गरे ।