काठमाण्डू, २८ माघ- कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री रामकुमार शर्मालाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीबाट निष्काशन गरेको छ ।
शर्मालाई माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको नेता र साधारण सदस्यसमेत नरहने गरी पार्टी केन्द्रीय समितिबाट निष्काशन गरिएको हो । मंगलबार बसेको नेकपा केन्द्रीय समिति बैठकले शर्मालाई सबै जिम्मेवारीबाट मुक्त गरेको हो ।
यस्तै कर्णाली प्रदेशसभा दलको कार्यालय पनि शर्मालाई प्रदेशसभा सदस्यबाट पदमुक्त गर्न प्रदेशसभा सचिवालयलाई पत्राचार गरेको छ ।
प्रमुख सचेतक कृष्णबहादुर जिसीले दर्ता गराएको पत्रमा शर्माले पार्टी नीति, सिद्धान्त, उद्देश्य र आचरणविपरीत कार्य गरेको तथा पार्टीको विधान, २०८२ र कर्णाली प्रदेश संसदीय दलको विधान, २०८२ को प्रतिकूल गतिविधि गरेको उल्लेख छ ।
पत्रमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (२) र (५) अनुसार पार्टी सदस्यबाट निष्कासन भएपछि उनी प्रदेशसभा सदस्यको रूपमा नरहने कानूनी व्यवस्था रहेको स्मरण गराउँदै आवश्यक कारबाही गर्न माग गरिएको छ । शर्माले दल त्याग गरेको समेत जानकारी दिइएको छ । शर्मा जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टीमा छन् ।