काठमाण्डू, २८ माघ– पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनको माहोल आफ्नो पार्टीतिर बढदै गएको बताएका छन ।
आज (बुधबार) पोखरामा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै संयोजक प्रचण्डले यस्तो बताएका हुन । प्रचण्डले विपक्षी राजनीतिक दलहरूले समेत निर्वाचनको माहौला आफ्नो पार्टीको पक्षतिर गएको भन्ने निष्कर्षमा पुगेको पनि बताएका छन ।
संयोजक प्रचण्डले भने, ‘यो मैले मात्रै भनेको होइन–हाम्रा विपक्षहरू, विपक्ष राजनीतिक दल, बुद्धिजीविहरू, पत्रकारहरू सबैले पनि आज भोलि भन्न के थालेको छन भने–नेपाली कम्युनिष्ट पार्टीको सोचेभन्दा राम्रो हुँदै गएको छ है भन्नेमा कसैको विमति छैन, पहिला त हामीलाई बडो हेपेर भन्ने गर्थे– एकदम कम ल्याउँछ, भनेजस्तो आउँदै आउँदैन भन्थे केही मान्छेहरू । ती मान्छेहरू पनि अहिले नेपाली कम्युनिष्ट पार्टी कम्पिटिशनमा गयो ।
अहिले ४ वटाको बीचमा प्रतिस्पर्धा हुन्छ भन्ने बजार पनि चर्चा छ ।’ संयोजक प्रचण्डले नेपाली कम्युनिष्ट पार्टीको प्रत्यक्षतर्फको निर्वाचनमा राम्रो नतिजा आउने देखिएको उल्लेख गर्दै सबैभन्दा उत्कृष्ट पार्टी बनाउने गरी मेहनतका साथ निर्वाचनको प्रचार अभियानमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन ।
नयाँ भनिएका राजनीतिक दलहरूले नयाँ ठाउँमा निर्वाचनको केही माहौल देखिएपनि पुराना ठाउँहरूमा त्यो नदिएको समेत उनको भनाइ थियो ।
प्रचण्डले आफ्नो पार्टी, कांग्रेस, एमाले र रास्वपाबीच निर्वाचनमा कडा प्रतिस्पर्धा हुने पनि बताएका छन । प्रचण्डले भने, ‘हाम्रो पार्टी नेपाली कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस, (एमाले) र रास्वपाका बीच कडा प्रतिष्पर्धा हुँदैछ देशभरीको निर्वाचनमा भन्ने भनाई सबैले स्वीकारेका छन् ।
मलाई लाग्छ–आउँदो १०, १५ दिनपछि नेपाली कम्युनिष्ट पार्टीले टप्यो, गइसक्यो अगाडि भन्ने वातावरण बन्नेछ भन्ने मेरो विश्वास छ । हामी सबैले मेहनत गर्यौँ भने अहिले त्यो परिस्थिति बन्दैछ,’ प्रचण्डको दाबी छ ।