काठमाण्डू, २८ माघ– कांग्रेस प्रवक्ता देवराज चालिसेले निवर्तमान सभापति शेरबहादुर देउवालाई निर्वाचन प्रचार–प्रसारमा ल्याउने प्रयास भइरहेको बताएका छन ।
आज (बुधबार) पत्रकार सम्मेलनमा पत्रकारले देउवालगायतका नेतालाई चुनावी प्रचारमा ल्याउन नयाँ केन्द्रीय समितिले कुनै प्रयास गरेको छ ? भन्ने प्रश्नको उत्तरमा प्रवक्ता चालिसेले यस्तो बताएका हुन । कांग्रेस प्रवक्ता चालिसले भने, ‘उहाँहरूसँग कुराकानी गर्ने कुरामा सबैजना सहमत छन् । दुईचार दिनदेखि मेहनत भइरहेको छ, ‘अरु केही नभएपछि तत्काललाई स्टेटमेन्ट (वक्तव्य) निकालौँ, भावनात्मक अपिल गरौँ भन्ने छ ।’
पहिले जेनजी आन्दोलनपछि निवर्तमान केन्द्रीय समितिमा देउवाले राखेको मन्तव्य जस्तै केही बोलिदिए निर्वाचनमा कांग्रेसका पक्षमा ठुलो वेभ सिर्जना हुने सम्भावना रहेको पनि उनले बताए ।
उनले भने, ‘पहिले पार्टीको केन्द्रीय समितिको बैठकमा बोलेको राम्रो थियो नि त, त्यही प्रकारको एउटा कपी बनाउने र बोल्न लगाउने । अर्को काठमाडौंमा जोडिएका चारपाँच वटा क्षेत्रमा उभिए झ्याप्पै वेभ सिर्जना हुन्छ ।’ यी कुराहरू पार्टीभित्रमा प्राथमिकतामा राखेको पनि उनले बताए ।
यस्तै पार्टीभित्र समुल एकता भए त्यो सबैभन्दा बलियो पक्ष हुने उनले बताए । ‘यो बलियो पक्ष पनि हो । समस्या छ । यसमा लाग्छौँ, यसमा हाम्रो नियतका कारणले, समयका कारणले दृष्टिकोणका कारणले कमी बनेको होइन,’ उनले भने । कतिपय कुरामा लाग्दालाग्दै पनि परिणाम नआउने पनि उनले बताएका छन।