काठमाण्डू, २७ माघ– प्रधानमन्त्री सुशीला कार्कीले सुरक्षामा कुनै कमजोरी नगर्न नेपाली सेनालाई निर्देशन दिएकी छन् ।
सैनिक मुख्यालय जंगीअड्डामा आयोजित पृतनापति समन्वयात्मक बैठकको उद्घाटन गर्दै कार्कीले अन्य सुरक्षा निकायबीच समन्वय गरेर काम गर्न सेनलाई निर्देशन दिएकी हुन् ।
विगतमा जस्तो अन्य सुरक्षा संयन्त्रबी समन्वयमा त्रुटि नदोहोर्याउन उनको निर्देशन थियो ।
‘विगतमा सुरक्षा संयन्त्रहरूबीच समन्वयमा कतै त्रुटि र रिक्तता भएका रहेछन् भने अब त्यो अवस्था दोहोरिन नदिन र चुनावी सुरक्षामा कत्ति पनि चुक हुन नदिनेतर्फ सतर्क हुनुहोस्,’ कार्कीले भनिन् ।
यस निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न यसअघिका चुनावको समेत अनुभव र आसन्न चुनावका विविध आयामहरूबाट विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायहरूसँग समन्वय गरी त्रुटिरहित ढंगले काम गर्न उनको निर्देशन छ ।
निर्वाचनलाई सुरक्षित वातावरणमा सम्पन्न गराउन नेपाली सेनाले कुशलतापूर्वक जिम्मेवारी पूरा गर्ने आफू विश्वस्त रहेको प्रधानमन्त्री कार्कीले बताइन् ।
जनतालाई सुरक्षाको प्रत्याभूति दिन, प्रहरी कारबाहीलाई सहजीकरण, सहयोग र सुरक्षित गर्न तथा सबै राजनीतिक दलका राजनीतिक गतिविधिहरूलाई बिना अवरोध सञ्चालन गर्ने वातावरण सृजना गर्ने वातावरण निर्माणमा अग्रसर हुन उनले सेनालाई निर्देशन दिइन् ।