वीरगञ्ज, २७ माघ– पर्सामा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साले उनीहरुलाई पक्राउ गरेको हो ।
पर्सा प्रहरी प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतले उनीहरुलाई सोमबार राति पक्राउ गरिएको बताए ।
सोमबार आदर्शनगरथित मदन गुप्ताको घरमा भन्सार छली गरेर ल्याइएका सामान भण्डार गरिएको अवैध गोदाममा छापा मार्ने क्रममा स्थानीय व्यापारीले सशस्त्र प्रहरी र वीरगञ्ज भन्सार कार्यालयका टोलीमाथि हमला गरेका थिए ।
त्यस क्रममा सशस्त्र प्रहरीतर्फ तीन जना घाइते भएका छन् । यस्तै सशस्त्रका दुई सवारी साधनमा क्षति पुगेको थियो ।
अनुसन्धान जारी रहेको भन्दै प्रहरीले पक्राउ परेकाहरुको परिचय खुलाएको छैन । सशस्त्र प्रहरीले १२ लाख ५० हजार मूल्यका भन्सार छली गरी ल्याइएका अवैध सामान बरामद गरिएको जनाएको छ ।