रवि लामिछानेलाई निर्वाचन आचारसंहिता उल्लंघन नगर्न सचेत गराइयो

काठमाण्डु टुडे २०८२ माघ २७ गते १०:०६ मा प्रकाशित

काठमाण्डू, २७ माघ– जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई निर्वाचन आचारसंहिता विपरीतको काम नगर्न तथा नगराउन सचेत गराएको छ ।

लामिछाने मंगलबार पश्चिम नवलपरासीका विभिन्न कार्यक्रममा सहभागी हुने तयारीमा छन् ।
लामिछाने आफूविरुद्धको सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्धाको तारिख बुझ्न सोमबार रुपन्देही पुगेका थिए । सोमबार उनी रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रमा आयोजित चुनाव केन्द्रित कार्यक्रम र घरदैलोमा सहभागी भए ।

निर्वाचन आचारसंहिता अनुगमन अधिकृत एवं पश्चिम नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी पोषन राज भण्डारीले सूचना जारी गर्दै आचारसंहिता विपरीत काम नगर्न लामिछानेलाई भनेका हुन् ।

‘मिति २०८२ साल माघ २७ गते यस जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ रहेको सूचना प्राप्त हुन आएकाले सो सम्बन्धमा निर्वाचन आचारसंहिता २०८२ आकर्षित हुने गरी निर्वाचन आचारसंहिता विपरीतका गतिविधि नगर्नु, नगराउनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ’, सूचनामा भनिएको छ ।

निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने निर्वाचनका लागि ४ फागुनबाट मात्र चुनावी सभा, जुलुस तथा चुनाव प्रचार–प्रसार गर्न अनुमति दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us