काठमाण्डू, २५ माघ– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सरकारले दुःख दिएको आरोप लगाएका छन् ।
राजधानीमा आइतबार आयोजित एक कार्यक्रममा उनले प्रसाईंलाई सरकारले अनाहकमा दुःख दिएको बताए ।
संविधानले अभिव्यक्ति राख्न, भेला हुन तथा हिँड्डुल गर्न स्वतन्त्रता प्रदान गरेको भन्दै उनले बोलेकै आधारमा प्रसाईंमाथि पटकपटक धरपकड गरिनु आपत्तिजनक भएको बताए ।
उनले नागरिकलाई निर्वाचन बहिष्कार गर्छु भन्ने पाउने अधिकार जनतालाई रहेको जिकिर गरे । ‘जुन प्रकारले दुर्गा प्रसाईमाथि सरकारले ज्यादती गरिराखेको छ, त्यसको म भर्त्सना गर्न चाहन्छु’, उनले भने ।
राज्यले एउटा व्यक्तिमाथि प्रतिशोध सॅाध्नु अनुचित भएको तर्क पनि उनको छ । लिङदनेले प्रसाईंलाई अबिलम्ब रिहा गर्न सरकारसँग माग गरे ।
प्रहरीको साइबर ब्युरोले प्रसाईंलाई शनिबार लतितपुरबाट पक्राउ गरेको थियो । सामाजिक सञ्जाल र युट्युब च्यानलहरुमा विवादास्पद अभिव्यक्ति दिने गरेका प्रसाईं पटकपटक पक्राउ पर्दै छुट्दै आएका छन् ।