काँग्रेस केन्द्रीय समितिको निर्णयः प्रतिस्पर्धी उम्मेदवारलाई गाली गर्न रोक

काठमाण्डु टुडे २०८२ माघ २५ गते १५:०४ मा प्रकाशित

काठमाण्डू, २५ माघ– कांग्रेसले प्रतिस्पर्धी उम्मेदवारलाई गाली गर्न नपाइने गरी निर्वाचन परिचालन निर्देशिका ल्याएको छ ।

आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठकले पारित गरेको निर्वाचन परिचालन निर्देशिका–२०८२ मा अन्य दलका उम्मेदवारलाई गाली गर्न नपाइने उल्लेख छ ।
प्रतिस्पर्धी पार्टी तथा उम्मेदवारबारे स्वस्थ टिप्पणी गर्न तथा तर्कका आधारमा मात्र आलोचना गर्न उम्मेदवारहरुलाई निर्देशन दिइएको छ ।

‘नेपाली कांग्रेस आफ्ना प्रतिस्पर्धी पार्टीहरू र तिनका उम्मेदवारहरूबारे स्वस्थ टिप्पणी गर्ने, आलोचना गर्नुपर्दा विषयगत तर्कका साथ गर्ने तर गाली नगर्ने नीति अख्तियार गर्दछ,’ निर्देशिकामा भनिएको छ, ‘घृणास्पद, उत्तेजक र भड्काउ प्रकृतिका अभिव्यक्ति दिनबाट हाम्रा उम्मेदवार र प्रचारक टाढा रहनेछन् । सामान्य र स्वस्थ प्रकृतिको व्यङ्ग्य निर्वाचन मैदानमा स्वभाविक हुन्छ । तर हाम्रो सार्वजनिक प्रस्तुति सम्पूर्णतः संयमित र परिपक्व रहनेछ ।’

निर्वाचनको मैदानलाई दुश्मनीको अखडा नभई विचार र व्यक्तित्व प्रतिस्पर्धाको महायज्ञका रुपमा लिने काँग्रेसले स्वपष्ट गरेको छ ।

‘चुनावी मैदानमा रहेका कुनै पनि दल या उम्मेदवार नेपाली कांग्रेसका लागि दुश्मन होइनन्,’ निर्देशिकामा भनिएको छ, ‘चुनावी प्रतिस्पर्धाका क्रममा यो संस्कृतिलाई सबैले आत्मसात गर्न सकुन् भनेर हामीले हाम्रो व्यवहारबाट सन्देश प्रवाहित गर्नुछ ।’

निर्वाचनलाई स्वस्थ र हार्दिक बनाउने कर्तव्य दलहरूकै भएकाले त्यसमा अरु दललाई समेत घच्घच्याउने भूमिकासमेत निर्वाह गर्ने निर्णय काँग्रेसले गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us