खोटाङ, २५ माघ–खोटाङको जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङमा विवाह भोज खाएका बेहुला–बेहुलीसहित सबै जना बिरामी भएपछि शिविर राखेर उपचार थालिएको छ ।
भोज खाएको १२ घन्टापछि सुरुमा ज्वरो आउने, र झाडापखाला लाग्ने समस्या देखिएपछि दिप्लुङकै निगालावासस्थित भञ्ज्याङ निवासी रामकुमार राईको घरमा शिविर राखेर उपचार थालिएको छ ।
विवाह भोज खाएकाहरूलाई ‘फुडपोइजन’ भएको आशंका गरिएको स्थानीय वीरबल किरातीले जानकारी दिए । यही माघ २१ गते दिप्लुङमा आयोजित विवाह भोज खाएका स्थानीयवासी माघ २२ गते बेलुकादेखि बिरामी पर्न थालेका थिए ।
बिरामी परेका स्थानीयको उपचारका लागि गाउँपालिकाको स्वास्थ्य शाखाको आरआरटी टिम, स्वास्थ्य कार्यालय खोटाङ र जनप्रतिनिधिको टोली खटिएका छन् ।
विवाह भोज खाएका बिरामीको अधिक चाप बढेपछि स्वास्थ्य कार्यालयबाट पनि औषधिसहितको जनशक्ति मगाइएको गाउँपालिका उपप्रमुख खेमबहादुर खड्काले जानकारी दिए ।
स्वास्थ्यमा समस्या आएका स्थानीय उपचारका लागि शिविरमा आउने-जाने क्रम जारी रहेको गाउँपालिकाका सूचना अधिकारी विनय निरौलाले जानकारी दिए ।
उपचारको माग गर्दै बिरामी सम्पर्कमा आउन थालेपछि गाउँपालिकाले माघ २३ गतेदेखि निगालावास भञ्ज्याङमा भेला गरेर उपचारको व्यवस्था मिलाएको हो ।
भोज खाएर फर्किएका उदयपुर, काठमाडौँलगायतका पाहुनासमेत बिरामी परेको खबर आएको गाउँपालिकाका अध्यक्ष अरुणादेवी राईले जानकारी दिए ।
‘शिविरमा अहिले पनि ३५ जनालाई स्लाइन र औषधि दिएर उपचार गरिरहेका छौं। विवाह भोज खाएका सबै बिरामी भएका छन्,’ उनले भने, ‘विवाहमा करिब २०० जनाले भोज खाएको अनुमान गरिएको छ । शिविर सञ्चालन गरेपछि सबैतिरबाट फोन आउन थालेको छ। उनीहरूको उपचारको व्यवस्था मिलाउन पहल भइरहेको ।’
केही उपचारपछि घर फर्किएका स्वास्थ्यकर्मीहरूले बताएका छन् । भोजमा भएको ‘फुडपोइजन’ को कारण पत्ता लगाउने प्रयास भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख कुलबहादुर पौडेलले बताए ।
‘विवाह भएको धेरै दिन भएकाले भोजको स्याम्पल संकलन गर्न सकिने अवस्था छैन । भोज खाएर काठमाण्डू गएका एक बिरामीलाई टेकु पठाएका छौं,’ उनले भने, ‘फुडपोइजनले धेरै दुर्घटना हुनसक्छ । जन्तेढुङ्गामा बिरामी पहिचान भएलगत्तै औषधि उपचार सुरु गरिएकाले घटना नहोला भन्नेमा हामी विश्वस्त छौं ।’