काठमाण्डू, २४ माघ– पूर्व मन्त्री एवं नेपाली कांग्रेसका नेता डा. प्रकाश शरण महतले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टीका आन्तरिक कुराले प्रभाव पर्न नहुने बताएका छन् ।
नुवाकोट–१ मा कांग्रेसबाट उम्मेदवार रहेका महतले आज (शनिबार) एक चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । कांग्रेस नेता डा. महतले भने,‘पार्टीको जीवनमा उथलपुथल आउँछ ।
कहिले कोही माथि पर्छ, कहिले तल पर्छ, ‘तर, यस्ता कुराले आम निर्वाचन लडिरहँदा प्रभाव पर्नुहुँदैन ।’ पार्टीका आन्तरिक कुराले पार्टी र देशको जीवन नै संकटमा पर्न नहुने उनले बताए ।
अहिले देश नै कठिन मोडमा रहेका बेला निर्वाचनबाट कांग्रेस बलियो बनेर आउनुपर्ने उनले बताएका छन । कांग्रेस नेता महतले भने,‘अहिले पूरा राज्यका संरचना ध्वंस गरेर झन्डै राज्यलाई असफल पार्ने कोसिस भएको छ । खर्बौँको प्रत्यक्ष क्षति भएको छ । त्यसो गरेकामा गौरव महसुस गरेर प्रस्तुत गरिँदैछ । यसमा हामीले सही कुरा जनतालाई भनिदिनुपर्छ ।’