रास्वपालाई प्रचण्डको प्रश्नः दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

काठमाण्डु टुडे २०८२ माघ २३ गते १९:२८ मा प्रकाशित

काठमाण्डू, २३ माघ– पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड पछिल्लो समय रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति आक्रामक अभिव्यक्ति दिन सुरु गरेका छन ।

बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा निर्वाचन परिचालन समितिको बैठकमा वर्तमान राजनीतिमा दुई खाले अतिवाद रहेको निष्कर्ष निकाल्दै निर्वाचनमा कुनै पक्षसँग पनि तालमेल नगर्ने बताएका थिए ।

प्रचण्डले एमाले पश्चगामी र रास्वपा पपुलिस्ट पार्टी भएकाले यी दुवै प्रवृत्तिसँग सहकार्य नगर्ने स्पष्ट पारेका थिए । शुक्रबार सल्यान–काठमाण्डू सम्पर्क मञ्चको कार्यक्रममा सम्बोधन गर्दै उनले विचार र मुद्दाको हिसाबले नेकपा नै नयाँ भएको बताए । प्रचण्डले भने, ‘नयाँ र पुरानाको कुरा गरिरहेका छन्, के हो नयाँ ? के हो पुरानो ?

आजको सबैभन्दा नयाँ भनेको गणतन्त्र हो, सङ्घीयता हो । सबैभन्दा नयाँ नेपाली कम्युनिस्ट पार्टी हो । आदिवासी जनजाति, सबै उत्पीडित क्षेत्र, मुस्लिम, थारु, मधेसी सबैलाई अधिकार दिलाएको नेकपाले हो, ‘म नयाँ भन्ने सबैलाई चुनौती दिन चाहन्छु ।

के हो तपाईँहरूले ल्याएको नयाँ मुद्दा रु गणतन्त्रभन्दा नयाँ केही छ ? नयाँ आन्दोलन र मुद्दा भनेर तपाईँहरूले जे भनिरहनुभएको छ, त्यो नयाँ होइन ।

उदार पूँजीवाद र दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?’ कार्यक्रममा उनले विचार र मुद्दाको हिसाबले नेकपा नै नयाँ भएको जिकिर गरे । प्रचण्डले गणतन्त्र, सङ्घीयता र उत्पीडित समुदायलाई अधिकार र पहिचान दिनेभन्दा नेपालमा अरू केही पनि नभएको पनि बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us