चैत पहिलो साताभित्र संसद् भवन निर्माणको काम सक्न राष्ट्रिय सभा अध्यक्षको निर्देशन

काठमाण्डु टुडे २०८२ माघ २३ गते १९:१० मा प्रकाशित

काठमाण्डू, २३ माघ– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले चैतको पहिलो हप्ताभित्र संघीय संसद् भवनको निर्माण कार्य सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन ।

आज (शुक्रबार) सिंहदरवारस्थित कार्यकक्षमा शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल र निर्माण कार्यमा सम्पन्न सम्बन्धित पक्षलाई बोलाएर राष्ट्रिय सभा अध्यक्ष दाहालले यस्तो निर्देशन दिएका हुन ।

नयाँ संसद् भवनबाटै प्रतिनिधिसभा र राष्ट्रिय सभा सञ्चालन गर्नेगरी कुनैपनि अवरोध नहुने गरी काम सम्पन्न गर्न सम्बन्धित पक्षलाई अध्यक्ष दाहालले निर्देशन दिएको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिएका छन ।

त्यसक्रममा शहरी विकास मन्त्रालयका सचिव सिग्देलले अध्यक्ष दाहाललाई संसद भवनको निर्माण कार्य करिव ९२ प्रतिशत सकिएको र बाँकि काम पूरा गरी चैत्रको पहिलो हप्ता निर्माण कार्य सम्पन्न गर्न सकिने ब्रिफिङ गरेका थिए । उनले भने, ‘अब बाँकी भएका कामहरुलाई एकदम शिघ्रताका साथ कुनैपनि कारणबाट अवरुद्ध नहुने गरी समयमा नै निर्माण सम्पन्न गर्न सम्माननीय अध्यक्षज्युले निर्देश पनि गर्नुभएको छ,’ उनले भने ।

यता, अध्यक्ष दाहालले भने सोही समयमा सक्नेगरी कार्य सम्पन्न गर्नका लागि नियमित अनुगमन गर्न संसद सचिवालयलाई सचेतसमेत गराए । उनले सो कार्यको प्रगति विवरण हप्ता हप्ता दिनमा संघीय संसद सचिवालयका गराउन पनि सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउनु भएको संघीय संसद् सचिवालयका प्रवक्ता गिरीले जानकारी दिए ।

उनले भने, ‘साथसाथै प्राविधिक पक्षहरुको स्टोलेशन गर्दै विभिन्न पक्षहरुमा सचिवालयका अन्य प्राविधिक जनशक्तिहरुले पनि सो काममा गएर हेर्ने, बुझ्ने अनि त्यो सम्बन्धि क्षमता अभिवृद्धि गर्ने लगायतका विषयहरुमा पनि कुराकानी भएको छ,’ उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us