काठमाण्डू, २३ माघ– विवादास्पद मेडिकल व्यवसायी एवं ‘राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईंलाई नेपाल प्रहरीको साइबर ब्युरोले निर्वाचन आयोगको पत्रका आधारमा पक्राउ गरेको खुलेको छ ।
प्रर्साईंलाई ब्युरोको टोलीले काठमाण्डूको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ गरेको थियो । आयोगले शुक्रबार ब्युरोलाई प्रसाईंले निर्वाचन कसुर सजाय ऐन २०७३ र निर्वाचन आचारसंहिता २०८२ को प्रतिकूलका हुनेगरी काम कारबाही गरेकोले भन्ने जानकारी आएको भन्दै के कसो भएको हो निगरानी गर्नु भन्दै पत्र पठाएको थियो ।
‘हामीले प्रसाईंले निर्वाचन कसुर सजाय ऐन २०७३ र निर्वाचन आचारसंहिता २०८२ को प्रतिकूलका हुनेगरी काम कारबाही गरेकोले के कसो भएको हो निगरानी गर्नु भन्दै आज पत्र पठाएका थियौँ,’ आयोगका एक पदाधिकारीले भने, ‘ब्युरोले पक्राउ गरेको जानकारी आएको छ ।’
प्रसाईंले सरकारले फागुन २१ गते निर्वाचन गर्न चाहेको छैन, निर्वाचन हुँदैन भन्ने अभिव्यक्ति सार्वजनिक रूपमा दिँदै आएका थिए । उनले शनिबार पर्सामा निर्वाचन आचारसंहिता विपरीत सभाको आयोजना गरेका थिए । त्यो जानकारी आयोगमा आएपछि आयोगले ब्युरोलाई पत्र पठाएको थियो ।
आयोगको पत्र आएपछि ब्युरोले बुझ्दा प्रसाईं पर्साको कार्यक्रममा सहभागी हुन जान लागेको जानकारी पायो । र पर्सा जाँदै गरेको अवस्थामा ब्युरोको टोलीले चाल्नाखेलबाट पक्राउ गर्यो ।