झुटा सूचनाले समाजमा गम्भीर समस्या सिर्जना गरेको छः एमाले उपाध्यक्ष पौडेल

काठमाण्डु टुडे २०८२ माघ २३ गते १७:४३ मा प्रकाशित

काठमाण्डू, २३ माघ– पूर्व मन्त्री एवं एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेलले झुटा सूचनाको फैलावटले समाजमा गम्भीर समस्या सिर्जना गरिरहेको दाबी गरेका छन ।

आज (शुक्रबार) एमाले निकट प्रेस चैतारी नेपाल रुपन्देही आयोजना गरेको कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी तालिमको उद्घाटन गर्दै उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन ।

उनले सामाजिक सञ्जालमार्फत् फैलिँदै गएको भ्रमपूर्ण सूचनालाई रोक्न पत्रकारहरू जिम्मेवार र सचेत हुनुपर्ने आग्रह समेत गरेका छन । एमाले उपाध्यक्ष पौडेलले सामाजिक सञ्जालमा फैलिने झुटा सूचनाले समाजलाई समस्यातर्फ धकेल्ने चेतावनी दिँदै यस्ता सूचनाको पहिचान र नियन्त्रणमा पत्रकारको भूमिका निर्णायक हुने पनि बताएका छन ।

उनले प्रविधिको प्रयोग गर्दा सत्य, तथ्य र जिम्मेवारीलाई केन्द्रमा राख्न आग्रह समेत गरेका छन । उपाध्यक्ष पौडलले भने,‘समाजमा झुटो सूचनाको बिगबिगी छ, सामाजिक सञ्जाल झुटो सूचना फैलाउने माध्यमका रुपमा विकास भइरहेका छन्, यसलाई रोक्न सकिएन भने समाजमा गम्भीर समस्या पैदा हुन्छ, ‘झुटो र भ्रमपूर्ण सूचनालाई रोक्न पत्रकारहरू जिम्मेवार र सचेत हुनुपर्छ ।’

उनले विज्ञान र प्रविधिले मानवीय जीवनमा ठूलो परिवर्तन ल्याइरहेको भन्दै पौडेलले विज्ञान तथा प्रविधिको विकाससँगै विश्व साँघुरो बन्दै गएकाले यसको प्रयोग मानव हितका लागि हुनुपर्ने पनि बताएका छन ।

उनले विज्ञान र प्रविधिले जति नै ठूलो परिवर्तन गरे पनि मानिस नै अन्तिम सत्य हुने स्पष्ट पारे । ‘प्रविधिले मान्छेको ज्ञान र विवेकलाई विस्थापित गर्न सक्दैन विज्ञान र प्रविधिको सहायताले मानिसले आफ्नो दैनिकी सहज बनाइरहेको छ, तर आफ्नै अस्तित्व समाप्त हुने गरी प्रविधिको प्रयोग हुनु हुँदैन’, पौडेलले भने, ‘मानिस नै अन्तिम सत्य हो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us