काठमाण्डू, २३ माघ– प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भनी रकम उठाएर ठगेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार पक्राउ पर्नेमा ३५ वर्षीय रुपेश लामिछाने र हिरा तामाङ रहेका छन । रुपेश काभ्रेको पाँचखाल नगरपालिका ३ घर भई काठमाण्डू महानगरपालिका ३२ का बासिन्दा हुन् ।
हिरा भने धादिङको खनेबास घर भई काठमाण्डूको तारकेश्वर नगरपालिका ६ का बासिन्दा हुन् । रुपेशले अष्ट्रेलिया पठाइदिन्छु भनी एक जनाबाट ९ लाख रुपैयाँ ठगेको पाइएको प्रहरीले जनाएको छ ।
यसैगरी हिराले स्लोभाकिया पठाइदिन्छु भनेर एक जनाबाट ८ लाख ५० हजार रुपैयाँ असुल गरेर विदेश नपठाइ ठगी गरेको पाइएको प्रहरीले जानकारी दिएको छ । उनीहरुले बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलब पाउने गरी बिभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएको भएका भन्दै पीडितहरुले उजुरी दिएका थिए ।
सोही उजुरी अनुसार अनुसन्धान गरी उनीहरुलाई काठमाण्डूको विभिन्न ठाउँबाट पक्राउ गरेको थियो । उनीहरुमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन ।