त्रिवि पदाधिकारीको कुर्सीमा अखिल क्रान्तिकारीले टाँस्यो लाञ्छनायुक्त पर्चा

काठमाण्डु टुडे २०८२ माघ २३ गते ११:५२ मा प्रकाशित

काठमाण्डू, २३ माघ– त्रिभुवन विश्वविद्यालय (त्रिवि)का पदाधिकारीको कुर्सीमा अखिल क्रान्तिकारीले विभिन्न लाञ्छनायुक्त पर्चा टाँसेको छ । त्रिविका चार वटा विभागको शुल्क घटाउनुपर्ने माग राखेर आन्दोलन गरिरहेको क्रान्तिकारीले उपकुलपति प्रा.डा. दिपक अर्याल र रजिस्ट्रार प्रा. डा. केदार प्रसाद रिजालको कुर्सीमा पर्चा टाँसेको हो ।

केही दिनअघि शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीको कार्यकक्षमा तोडफोडसमेत भएको थियो । तर अखिल क्रान्तिकारीले बिहीबार विरोध र दबाबका लागि ‘सांकेतिक’ आन्दोलन गरेको जनाएको छ । ‘वार्ता र छलफलका लागि कुर्यौं तर कनै पहल गरेको छैन । त्यसको विरोध स्वरुप सांकेतिक आन्दोलन गरेका हौं,’ अखिल क्रान्तिकारी त्रिवि अध्यक्ष दिनेश ऐरले भने ।

त्रिविका अधिकारीहरू विद्यार्थी संगठनले पदाधिकारीको कुर्सीमा अपशब्द टाँसेर दुर्व्यवहार गरेको दाबी गर्छन् । ‘पदाधिकारी सरको कार्यकक्षमा आएर जथाभावी लेखेर गए । यो त दुर्व्यवहार हो,’ त्रिवि केन्द्रीय कार्यालयका एक अधिकारीले भने, ‘विद्यार्थीबाट पदाधिकारीर कर्मचारी डराउनु पर्ने अवस्था छ ।’

अखिल क्रान्तिकारीले पनि आफूहरूमाथि प्रशासन लगाएको आरोप लगाएको छ । ‘हाम्रो साथीलाई प्रहरी लगाएर गिरफ्तार गरियो । दुई तीन घण्टा राखेर छोडियो,’ ऐरले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us