बर्दियामा चितुवाको आक्रमणबाट एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८२ माघ २२ गते १६:०१ मा प्रकाशित

काठमाण्डू, २२ माघ– बर्दियामा चितुवाले आक्रमण गर्दा एक युवाको मृत्यु भएको छ । गुलरिया नगरपालिका–५ तुल्सीपुरका ३५ वर्षीय नन्दु रोकायको चितुवाको आक्रमणबाट मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी शिवबहादुर केसीले जानकारी दिएका छन ।

बारबर्दिया नगरपालिका–११ भेलभार स्थित जनजागृति सामुदायिक वनमा घाँस काट्न गएको बेला चितुवाले आक्रमण गर्दा रोकायको घटना स्थल मै मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी केसीले जानकारी दिए ।

गत ७ माघमा सोही क्षेत्र आसपासमा तोरीबारीमा काम गर्ने क्रममा चितुवाको आक्रमणबाट बारबर्दिया नगरपालिका वडा नं ११ बेलभारकी खिदनी थारूको मृत्यु भएको थियो ।पछिल्लो समयमा बर्दियामा चितुवा र वन्यजन्तुको आक्रमणका घटना बढ्दै गएका छन् ।

डिभिजन वन कार्यालयको तथ्यांक अनुसार गत साउन यता छ जना चितुवाको आक्रमणबाट, एक जना पाटेबाघको आक्रमणबाट र दुई जना जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us