काठमाण्डू, २२ माघ– काठमाण्डूको नागार्जुन नगरपालिका–६ महाँकालबाट प्रहरीले गोली हानेर ६५ तोला सुनसहित एक जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा बाँके घर भएका प्रेम चौधरी रहेको प्रहरीले जनाएको छ ।
काठमाण्डूका विभिन्न स्थानमा भएका श्रृंखलाबद्ध चोरीका घटनाबारे अनुसन्धान गरिरहेको प्रहरी चौधरीलाई पछ्याउँदै गएराति विशेष सूचनाको आधारमा नागार्जुन नगरपालिका क्षेत्रमा पुगेको थियो ।
गएराति करिब साढे ११ बजे चौधरीलाई नियन्त्रणमा लिन खोज्दा उल्टै प्रहरीमाथि आक्रमण भएपछि गोली चलाएर नियन्त्रणमा लिइएको काठमाण्डूका प्रहरी परिसरका एसएसपी रमेश थापाले जानकारी दिएका छन । त्यसक्रममा एक जना प्रहरी हबल्दार पनि सामान्य घाइते भएका प्रहरीले जनाएको छ ।
काठमाण्डू प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईका अनुसार पक्राउ परेका चौधरीको खुट्टामा गोली लागेको छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । चौधरीको साथबाट ६५ तोला सुन, केही चाँदी, नगद र घरेलु हतियार समेत बरामद भएको प्रहरीले जनाएको छ । काठमाण्डू प्रहरी परिसरका प्रवक्ता भट्टराईका अनुसार पक्राउ परेका चौधरी काठमाडौं उपत्यकामा भएका श्रृंखलाबद्ध चोरीका घटनाका आरोपी हुन् ।
यसैहप्ता भोटेबहालमा २५ तोला जति सुन चोरी भएको थियो । गत मंगलबार बौद्ध टुसालमा एक घरबाट एक करोडभन्दा बढीको गरगहना चोरी भएको थियो ।कालिमाटी र ललितपुरका केही स्थानमा पनि नगद र गरगहना चोरीका घटना भएका थिए ।