सरकार सेना र पुलिसको ब्यारेकमा मतपेटिका राखेर चुनावमा धाँधली गर्न खोज्दैछः महेश बस्नेत

काठमाण्डु टुडे २०८२ माघ २१ गते १४:३५ मा प्रकाशित

काठमाण्डू, २१ माघ– एमालेका सचिव एवं भक्तपुर–२ बाट एमाले उम्मेदवार रहेका महेश बस्नेतले चुनावमा सरकार स्वयं धाँधली गर्न लागेको आरोप लगाएका छन् ।

एमाले नेता बस्नेतले हिमाली जिल्लामा मौसमका कारण निर्वाचन सार्ने र त्यही क्रममा मतपेटिका प्रहरी र सेनाका ब्यारेकमा मतपेटिका राखेर कसलाई जिताउने र कसलाई हराउने काममा लागेको प्रधानमन्त्री सुशीला कार्कीको सम्बोधनबाटै पुष्टि भएको पनि बताएका छन ।

एमाले सचिव बस्नेतले भने, ‘हिमाली जिल्लामा चुनाव सम्भव छैन भनेर चैत वा वैशाख अन्तिमतिर सारेर त्यहीँ दौरानमा प्रहरी र सेनाका ब्यारेक तथा क्याम्पहरूमा मतपेटिका राखेर कसलाई हराउनुपर्ने कसलाई जिताउनुपर्ने भनेर हिसाबकिताब गर्ने भन्ने तहको षड्यन्त्रमा स्वयं सरकार संलग्न छ, ‘यो कुराको पुस्ट्याइँ स्वयं प्रधानमन्त्रीले राष्ट्रिय सभामा गरेको सम्बोधनबाट भएको छ ।’

त्यसैका लागि निर्वाचन दुई चरणमा गर्न लागिएको बस्नेतको आरोप छ । उनले सरकार स्वयं चुनावमा धाँधली गर्नेतिर लागेको भन्दै यो सरकारबाट निष्पक्ष चुनाव हुने कुरामा विश्वास गर्न नसकिने पनि बताएका छन । एमाले नेता बस्नेतले संसद् पुनर्स्थापना माग गर्दै दायर भएको रिटमाथि सर्वोच्चले तत्काल फैसला गर्नुपर्ने पनि बताए ।

एमालेका तर्फबाट उपत्यकाका उठेका १५ जना उम्मेदवारहरूसँगको बुधबार काठमाण्डूमा भएको संवादमा बोल्दै बस्नेतले अदालत यो मुद्दाबाट भाग्न नपाउने बताए । उनले भने, ‘आज पनि पेसी चढ्छ भनेर हामीले आस गरेका थियौँ, फेरि सर्‍यो ।

प्रधानन्यायाधीशलाई लाग्दै नलागेको रोग लागेर गायब हुने, फोन अफ गर्ने र पन्छिने प्रवृत्ति बनेको छ । यसले हामी निकै ठुलो वैदेशिक आक्रमणमा भएको पुष्टि हुन्छ, ‘हाम्रो सर्वोच्च, उच्च र जिल्ला अदालत मात्रै नभई न्यायिक प्रणाली नै जलिरहेको अनुभूति हुन्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us