काठमाण्डू, २१ माघ– एमालेका सचिव एवं काठमाण्डू क्षेत्र नं– ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा.राजन भट्टराईले संसद् पुनर्स्थापना लोकतन्त्र र संविधानलाई सहज बाटोमा फर्काउने उपाय भएको बताएका छन ।
आज (बुधबार) एमाले निकट प्रेस चौतारी नेपालले बुधबार काठमाण्डूमा आयोजना गरेको काठमाण्डू उपत्यकाका उम्मेदवारहरूसँगको पत्रकार सम्मेलनमा बोल्दै एमाले सचिव भट्टराईले यस्तो बताएका हुन ।
उनले एमाले नीतिगत रूपमा अहिले पनि संसद् पुनर्स्थापनाको पक्षमा रहेको पनि बताएका छन । एमाले सचिव भट्टराईले भने, ‘यसले लोकतन्त्र र संविधान सहज बाटोमा फर्कन्छ भन्नेमा हामी विश्वस्त छौँ ।’ यद्यपि, उनले जनताबाट अनुमोदित हुन निर्वाचनमा जाने प्रक्रियाबाट एमाले कहिल्यै नभाग्ने पनि स्पष्ट पारे ।
‘जनताबाट अनुमोदित हुन निर्वाचनमा जाने कुराबाट एमाले भाग्दैन’, भट्टराईको भनाइ छ । डा. भट्टराईले काठमाडौँ उपत्यकाका अधिकांश सिटमा एमालेले जित हासिल गर्ने विश्वास व्यक्त गर्दै मतदातालाई कुनै उत्तेजनामा नआई विवेकपूर्ण भावनाका साथ मतदान गर्न अनुरोध गर्दै लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी पुरा गर्न आग्रह समेत गरेका छन ।