काठमाण्डु, ८ असोज– संविधानसभा दोस्रो चुनावमा आफ्नै पार्टीका उम्मेद्वारलाई हराउन भूमिका खेलेको भन्दै कांग्रेस अनुशासन समितिले केन्द्रीय सदस्य सुजाता
कोइरालासहित १ सय ८३ जनालाई कारबाहीको सिफारिस गरेको छ ।
जसमा केन्द्रीय सदस्य, सभासद्, पूर्वमन्त्रीदेखि क्षेत्रीय सभापतिसमेत छन् । अनुशासन समितिले मंगलबार कार्यबाहक सभापति रामचन्द्र पौडेललाई प्रतिवेदन बुझाएको छ । केन्द्रीय समितिले अनुमोदन गरेपछि छानविन समितिको सिफारिस कार्यान्वयनमा जानेछ ।
समितिले दोस्रो संविधानसभा निर्वाचनमा भएको अन्तर्घातका विषयमा छानविन गरेको थियो । छानविन समितिले नेतृ कोइरालालाई बहाल गरेको पदीय दायित्व र जिम्मेवारीमा तीन महिनाको प्रतिबन्ध लगाएको छ । उनले मोरङका कांग्रेस उम्मेदवार आमोदप्रसाद उपाध्यायलाई हराउन भूमिका खेलेको छानविन समितिको ठहर छ ।
उपाध्याय छानविन समितिका पनि संयोजक हुन् । नेतृ कोइराला केन्द्रीय सदस्यसँगै पार्टीको विदेश विभाग प्रमूख पनि छिन् । उनी चुनावमा टिकट बाँड्ने संसदीय बोर्डको सदस्य र समानुपातिक सभासद् पनि हुन् ।
यसैबीच सुजाताले आफूले निर्वाचनमा अन्तर्घात गरेको भन्ने कुरा निराधार भएकाले आफूले त्यसलाई नमान्ने बताएकी छन् । ‘ममाथि लगाइएको आरोपको ठूलो विरोध छ । चार जनाले गरेको यस्तो निर्णय म मान्दिनँ । सभापतिले त्यसको जवाफ दिनुपर्छ, केन्द्रीय समितिमा छलफल हुनुपर्छ ।’
नयाँ पत्रिकाबाट